-सुभाष श्रेष्ठ प्रधान
गीतकार रिमा श्रेष्ठले जेन-जी आन्दोलनमा आफ्नो ज्यान गुमाएका सपुतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशभक्तिपूर्ण गीत ‘देशको शान’ सार्वजनिक गरेकी छन्। उक्त गीतमार्फत जेन-जी पुस्ताले देशमा आमूल परिवर्तनका लागि दिएको योगदान, त्याग र बलिदानलाई उनले भावनात्मक शब्दमार्फत प्रस्तुत गरेकी छन्।
‘देशको शान’ गीतमा सनिश श्रेष्ठले स्वर दिएका छन् भने दिनेश श्रेष्ठले संगीत संयोजन गरेका छन्। गीतको कम्पोजिसन कल्याण सिंहको रहेको छ। गीतको रेकर्डिङ डी स्टुडियोमा गरिएको हो। यसरी गीतकार रिमा श्रेष्ठको सिर्जनालाई सनिश श्रेष्ठ, दिनेश श्रेष्ठ र कल्याण सिंहले आ–आफ्नो भूमिकामार्फत सशक्त साथ दिएका छन्।
गीतको भिडियोमा रोहन श्रेष्ठको अभिनय रहेको छ। भिडियोको छायांकन युनिक कोइरालाले गरेका छन् भने सम्पादन विकास दाहालको रहेको छ। चर्चित म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले भिडियोको निर्देशन गरेका छन्। यस गीतका निर्माता कुशल गुरुङ हुन्।
देशप्रेम, परिवर्तनको चाहना, त्याग र बलिदानको भावलाई केन्द्रमा राखिएको ‘देशको शान’ ले गीत तथा म्युजिक भिडियोमार्फत नेपाली युवापुस्ताको भावना र देशप्रतिको जिम्मेवारीलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। विशेषगरी जेन-जी पुस्ताले उठाएको परिवर्तनको आवाज र त्यस क्रममा भएको त्याग तथा बलिदानलाई गीतले भावनात्मक रूपमा उजागर गरेको छ।
प्रवासमा रहेर पनि मातृभूमि, नेपाली समाज र समसामयिक विषयसँग भावनात्मक रूपमा जोडिँदै सिर्जना गर्नु रिमा श्रेष्ठको सांगीतिक यात्राको महत्वपूर्ण विशेषता हो। नेपाली भाषा, कला, संस्कृति र मौलिक पहिचानप्रतिको उनको निरन्तर लगावले प्रवासबाट पनि नेपाली सिर्जनाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। ‘देशको शान’ पनि उनको यही देशप्रेम, संवेदनशीलता र सिर्जनशीलताको एउटा सशक्त अभिव्यक्ति बनेको छ।
गीतमार्फत उनले केवल मनोरञ्जन प्रस्तुत गर्ने प्रयास मात्र गरेकी छैनन्, देश, समाज र नयाँ पुस्ताप्रतिको आफ्नो जिम्मेवारी तथा भावनालाई समेत सिर्जनामार्फत अभिव्यक्त गरेकी छन्। प्रवासमा बसेर पनि मातृभूमिको पीडा, आशा, परिवर्तनको चाहना र नेपाली युवाको भावनालाई गीतमा समेट्नु रिमा श्रेष्ठको सिर्जनात्मक यात्राको विशेष पक्षका रूपमा देखिन्छ।
गीतकार रिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सिर्जनशील यात्रामा सक्रिय कलाकार हुन्। प्रवासको व्यस्त जीवनका बीच पनि उनले कला, साहित्य र संगीतप्रतिको आफ्नो प्रेमलाई कहिल्यै ओझेल पर्न दिएकी छैनन्। पेशाले आईटी इन्जिनियर रहेकी श्रेष्ठ आफ्ना सिर्जनामार्फत नेपाली भाषा, कला, संस्कृति र संगीतसँग निरन्तर जोडिँदै आएकी छन्। उनले आफ्ना सिर्जनाहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छन्।
प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति तथा मौलिक भेषभूषाप्रतिको उनको माया र सम्मान उत्तिकै प्रगाढ देखिन्छ। नेपाली पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उनको प्रयास गीत–संगीतमा मात्र सीमित छैन, सामाजिक तथा सांस्कृतिक गतिविधिमा समेत उनको सक्रियता देखिन्छ।













