‘ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड’ केही दिनका लागि स्थगित

ओप्सना फिल्म्सको आयोजनामा यही भदौ  १३ गते शनिबार आयोजना हुन गईरहेको तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड’ कार्यक्रम स्थगित भएको छ । आयोजक संस्थाले आज एक विज्ञप्ति प्रकाशित गरी अर्को सूचना नआएसम्मको लागि अवार्ड कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ- ‘हालै रसुवा जिल्लालगायत आसपासका क्षेत्रमा आएको बाढी, पहिरो तथा विषम प्राकृतिक परिस्थितिका कारण जनजीवन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै यस संस्थाद्वारा आयोजना गर्न लागिएको कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराइन्छ।

वर्तमान परिस्थितिमा कार्यक्रम सञ्चालन गर्दा सहभागी, कलाकार, अतिथि तथा सम्पूर्ण सरोकारवालाहरूको सुरक्षा र आवागमनमा कठिनाई हुने भएकाले मानवीय संवेदनशीलतालाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। परिस्थिति सामान्य भएपछि कार्यक्रमको नयाँ मिति, समय र स्थानबारे पुनः सूचना प्रकाशित गरिनेछ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। साथै, यस विपद्को समयमा सम्पूर्णमा सुरक्षित रहन तथा प्रभावित परिवारहरूप्रति सहयोग र सद्भाव राख्न हार्दिक अनुरोध गर्दछौँ  ।’