गीतकार, सङ्गीतकार एवं गायक तथा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थें म प्रित’ को भिडिओ सार्वजनिक गरिएको छ। आइतबार राजधानीको न्यूरोडस्थित जय नेपाल हलमा आयोजित विशेष समारोहमा ख्यातिप्राप्त अभिनेता, गायक, सङ्गीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा डा. झाको शब्द, सङ्गीत र स्वरमा तयार भएको गीत तथा त्यसको भिडिओ सार्वजनिक गरिएको हो।
फिल्मी शैलीमा तयार पारिएको गीत र त्यसको भिडिओमा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। ‘न गाँस्थें म प्रित’ डा. रणजित कुमार झाको ‘जीवन पथ २’ एल्बममा समावेश गीत हो। गीतमा म्युजिक एरेन्ज पबिधन खालिङले गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको भिडिओमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। जहाँ सोहल्या र सुरेशलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। भिडिओमा निर्देशन, कथा लेखन तथा कोरियोग्राफी कविराज गहतराजको छ। रामशरण उप्रेतीको छायाङ्कन रहेको यस भिडिओमा मनोज कार्कीको दृश्य तथा रङ्ग सम्पादन र जीएफएक्स रहेको छ। सरोज पाण्डेले मेकअप गरेका छन् ।
गीत तथा भिडिओ सार्वजनिक कार्यक्रममा डा. रणजित कुमार झाले चिकित्सा पेसासँगै सङ्गीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताए। ‘जीवन पथ २’ एल्बम अन्तर्गत सार्वजनिक गरिएको यो गीतले अव्यक्त प्रेमिल भावनालाई सङ्गीतमार्फत प्रस्तुत गरेको उनको भनाई छ।
म्युजिक भिडिओका निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले गीत सुन्नासाथ त्यसले कल्पनामा डुबाएको र त्यसकै आधारमा रोमाञ्जक भिडिओ बनाइएको बताए। अध्ययनका सिलसिलामा भारतमा रहेकी भिडिओकी मोडल तथा गायक झाकी छोरी सोहल्या झाले भिडिओ सन्देशमा ६ वर्षसम्म सिकेको भरत नाट्यम भिडिओका लागि काम लागेको र बुवाको भिडिओमा काम गर्न पाउँदा खुशी लागेको बताइन्।
अर्का मोडल सुरेश कोहलीले यो म्युजिक भिडिओबाट फिल्मी गीतको भिडिओको मजा लिएको बताए। गायक राजेश पायल राईले रणजितको प्रतिभालाई सामान्य ठाने पनि संगत गरेर स्वर सुनेपछि अद्भुत प्रतिभा पाएको बताए। त्यसैगरी प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठले डा. झाको नशा नशामा सङ्गीत पाएको बताए। म्युजिक भिडिओ सार्वजनिक भएसँगै ‘न गाँस्थें म प्रित’ डा.रणजित कुमार झाकै युट्युब च्यानलका साथमा विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममार्फत समेत उपलब्ध भएको छ।
कार्यक्रममा रणजितको परिचयात्मक भिडिओ र उनका आगामी गीतहरु ‘साथी तँ रक्सी नखा’ र ‘रातकी रानी’ को भिडिओ ट्रेलर पनि सार्वजनिक गरिएको थियो। एउटा हातले बिरामीको उपचार गर्ने चिकित्सक, अर्को हातले जीवनका अनुभूति, प्रेम र संवेदनालाई गीतमा उतार्ने सर्जका रुपमा पहिचान बनाएका डा. झाले बंगलादेशबाट एमबीबीएस र टिचिङ अस्पताल महराजगन्जबाट एमडी गरेका छन्। उनको भारतको अपोलो अस्पतालबाट दुई गम्भीर बिषय मधुमेह र मुटु सम्बन्धी फेलोशिप पनि रहेको छ।
सप्तरीको ग्रामिण क्षेत्र कल्याणपुर प्राथमिक स्वास्थ उपचार केन्द्रबाट सेवा प्रारम्भ गरेका डा. रणजितले जिरी अस्पताल दोलखा, प्रादेशिक अस्पताल लहान, गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज, त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज र हाल सेवारत वीर अस्पतालसम्म २१ वर्षको सेवा अवधिमा लगभग ९ वर्ष विभिन्न अस्पतालमा प्रमुख भएर नेतृत्व गरिसकेक छन्। तीन दशक लामो साङ्गीतिक करियरमा उनले गीत लेख्ने, त्यसमा धुन भर्ने र स्वरबद्ध गर्ने गर्दै आएका छन्।
स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि तत्कालीन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा प्रबल जनसेवाश्री २०७७ बाट विभूषित भइसकेका डा. रणजित कुमार झा, स्वास्थ्य तथा सङ्गीत क्षेत्रमा पुर्याएको योगदान र २०७२ सालको भूकम्प पीडितका लागि सेवा गरेवापत हङ्वान्जी बुद्धिस्ट सोसाइटी अफ नेपाललगायतका संस्थाबाट पनि सम्मानित भएका छन्। सङ्गीतमा पुर्याएको योगदानका लागि हिमालयन म्युजिक अवार्ड २०७२, १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०२५ अन्तर्गत म्युजिक खबर सङ्गीतकर्मी सम्मान, निम अवार्ड सङ्गीतकर्मी सम्मान २०२५ लगायतका विभिन्न पुरस्कार तथा सम्मानबाट उनी पुरस्कृत एवं सम्मानित भइसकेका छन्।













