ऐतिहासिक नेपाली चलचित्र प्रदर्शन शृङ्खला ‘ओल्ड इज गोल्ड’ सम्पन्न, दर्शकको उत्साहजनक सहभागिता

पहिलो दिन प्रश्न थियो— वर्षौंअघि बनेका नेपाली चलचित्र फेरि ठूलो पर्दामा फर्काउँदा दर्शक आउलान् त ? सात दिनपछि त्यसको जवाफ कुनै भाषण वा घोषणाले होइन, भरिएका हल र दर्शकको निरन्तर उपस्थितिले दिएको छ । चलचित्र विकास बोर्डद्वारा आयोजित ऐतिहासिक नेपाली चलचित्र प्रदर्शन शृंखला ‘ओल्ड इज गोल्ड’ बुधबार ‘जीवनरेखा’को प्रदर्शनसँगै सम्पन्न भएको छ। सात दिनसम्म चलेको शृंखलामा नेपाली चलचित्र इतिहासका विभिन्न कालखण्ड प्रतिनिधित्व गर्ने दस चलचित्र ठूलो पर्दामा प्रदर्शन गरिए।

अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिएका थिए। दुवै चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति रह्यो। ‘जीवनरेखा’को प्रदर्शनसँगै सात दिनदेखि चलिरहेको नेपाली चलचित्र इतिहासको विशेष यात्रा औपचारिक रूपमा टुंगिएको हो । समापन कार्यक्रममा वरिष्ठ कलाकार शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, शकुन्तला शर्मा, टिका पहारी, सुष्मा शाही, निर्देशक लक्ष्मीनाथ शर्मा तथा नेपाली चलचित्र क्षेत्रकी पहिलो व्यावसायिक हेयर ड्रेसर प्रभा ढकाललगायत विशिष्ट चलचित्रकर्मीको उपस्थिति रहेको थियो। समापनको एउटा विशेष र सांकेतिक दृश्य भने पुरानो पुस्ताका चलचित्रकर्मीले नयाँ पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर आशीर्वाद दिएको क्षण बन्यो।

समापन कार्यक्रममा चलचित्र ‘गौँथली’का प्रमुख कलाकार अरुण क्षेत्री र सिम्रन खड्का, निर्देशक डा. कपिल रिजाल तथा निर्माता सुमन गिरीलगायत चलचित्रकर्मीको उपस्थिति थियो। ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् भने डा. कपिल रिजाल निर्देशक तथा सुमन गिरी निर्मातामध्येका एक हुन्।

नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दले अभिनेत्री सिम्रन खड्कालाई, वरिष्ठ अभिनेता शिव श्रेष्ठले अभिनेता अरुण क्षेत्रीलाई, निर्देशक लक्ष्मीनाथ शर्माले निर्देशक डा. कपिल रिजाललाई र वरिष्ठ कलाकार टिका पहारीले निर्माता सुमन गिरीलाई, वरिष्ठ कलाकार सन्तोष पन्तले  वितरक करण क्रेजिलाई खादा लगाएर आशीर्वाद दिएका थिए।

सात दिनसम्म पर्दामा नेपाली चलचित्रको इतिहास देखाइएको कार्यक्रमको अन्तिम क्षणमा त्यही इतिहास निर्माण गरेका अग्रजहरूले आजको पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर शुभकामना र आशीर्वाद दिनुले समापनलाई अझ अर्थपूर्ण बनायो । एकातिर पर्दामा ‘जीवनरेखा’ चलिरहेको थियो, अर्कोतिर नेपाली चलचित्रको पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो अनुभव, सद्भाव र आशीर्वाद हस्तान्तरण गरिरहेको थियो। ‘ओल्ड इज गोल्ड’ अन्तर्गत सात दिनमा ‘आमा’, ‘सिन्दूर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिए।

कार्यक्रमको सुरुवात नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकारहरूको विशेष उपस्थितिमा भएको थियो। उद्घाटन समारोहमा भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठले दीप प्रज्वलन गरेका थिए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कलाकारहरूसँग तत्कालीन समयको चलचित्र निर्माण, अभिनय र नेपाली सिनेमाको यात्राबारे संवाद तथा सहजीकरण गरेका थिए । पहिलो दिनदेखि नै दर्शकको चाप उल्लेख्य रह्यो। कतिपय दर्शकले उभिएरै चलचित्र हेर्नुपर्ने अवस्था बनेको थियो। त्यो उत्साह पहिलो दिनमै सीमित रहेन। दोस्रो दिन प्रदर्शन गरिएका ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल भए। तेस्रो दिन ‘के घर के डेरा’ र ‘मनको बाँध’मा पनि हाउसफुल वातावरण कायम रह्यो भने त्यसपछिका प्रदर्शनमा समेत दर्शकको उत्साह निरन्तर देखियो। सबै चलचित्रका शो हाउसफुल रहे । सात दिनसम्मको दर्शक सहभागिता नै कार्यक्रमको सबैभन्दा बलियो पक्ष बन्यो।

‘ओल्ड इज गोल्ड’को विशेषता केवल पुराना चलचित्रको प्रदर्शन थिएन। ती चलचित्रसँग प्रत्यक्ष रूपमा जोडिएका कलाकार, निर्देशक तथा चलचित्रकर्मी स्वयं हलमा पुगेर दर्शकसँगै आफ्ना पुराना सिर्जना हेरे। कार्यक्रमका विभिन्न दिनमा भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल, शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, शकुन्तला शर्मा, टिका पहारी, सुष्मा शाही, शर्मिला मल्ल, पुरन जोशी, लक्ष्मीनाथ शर्मा र प्रभा ढकाललगायत वरिष्ठ तथा विशिष्ट चलचित्रकर्मीको उपस्थिति रह्यो।

कलाकारहरूले चलचित्र निर्माणका तत्कालीन अनुभव र स्मृति दर्शकसँग बाँडे। पर्दामा उनीहरूका दशकौँअघिका चलचित्र चलिरहँदा दर्शकदीर्घामा स्वयं तिनै कलाकार उपस्थित हुनु कार्यक्रमको विशेष आकर्षण बन्यो। पुरानो पुस्ताका दर्शकका लागि यो आफ्ना स्मृतिसँगको पुनर्मिलन थियो भने नयाँ पुस्ताका दर्शकका लागि नेपाली चलचित्र इतिहासको जीवित कक्षा बन्यो। ‘ओल्ड इज गोल्ड’बाट देखिएको सबैभन्दा बलियो तथ्य थियो— दर्शकको निरन्तर उपस्थिति।

पहिलो दिनको भीडलाई उत्सुकता मात्रै मान्न सकिन्थ्यो। तर दोस्रो दिन दुवै शो हाउसफुल हुनु, त्यसपछिका दिनमा पनि हल भरिनु र अन्तिम दिनसम्म दर्शकको उत्साह कायम रहनुले स्पष्ट सन्देश दिएको छ— पुराना नेपाली सिनेमाका दर्शक अझै छन्। डिजिटल प्लेटफर्म, मोबाइल र स्ट्रिमिङको समयमा दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शक हलसम्म पुग्नुले पुरानो नेपाली सिनेमासँग दर्शकको भावनात्मक तथा सांस्कृतिक सम्बन्ध अझै जीवित रहेको देखाएको छ। यसले पुराना चलचित्रको संरक्षण केवल अभिलेख, रिल वा डिजिटल फाइल सुरक्षित राख्नु मात्र होइन, ती चलचित्रलाई पुनः दर्शकसम्म पुर्‍याउनु पनि संरक्षणकै एउटा महत्त्वपूर्ण पक्ष हो भन्ने सन्देश दिएको छ।

कार्यक्रमको उद्घाटनकै दिन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ऐतिहासिक चलचित्रको यस्तो प्रदर्शनलाई सात दिनमै सीमित नराख्ने घोषणा गरेका थिए। उनले हरेक महिना पुराना तथा ऐतिहासिक नेपाली चलचित्रको विशेष शो आयोजना गर्ने र त्यसबाट प्राप्त रकम चलचित्र कल्याणकारी कोषमा जम्मा गर्ने बताएका थिए । सात दिनसम्म देखिएको दर्शक सहभागिताले उक्त घोषणालाई थप आधार दिएको छ।

‘ओल्ड इज गोल्ड’को सुरुवात अग्रज कलाकारले दीप प्रज्ज्वलन गरेर गरेका थिए। समापनमा तिनै अग्रज पुस्ताले नयाँ पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर आशीर्वाद दिए । यस अर्थमा सात दिनको यात्रा केवल दस पुराना चलचित्रको प्रदर्शनमा सीमित रहेन। यो नेपाली चलचित्रको इतिहास, वर्तमान र भविष्यलाई एउटै थलोमा जोड्ने अवसर बन्यो।