-प्रकाश सुवेदी (मनासस, भर्जिनिया)
११३औँ भानुजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना र अनेसास डिसी मेट्रो च्याप्टरको संयोजनमा अनेसास नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शनिबार अमेरिकाको भर्जिनियामा सम्पन्न गरिएको छ।

अनेसासका निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा अमेरिकास्थित नेपाली राजदूतावास, वासिङ्टन डीसीका कार्यवाहक राजदूत शरदराज आरणको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, निर्वाचन समितिका पदाधिकारीहरू तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ अनेसास डिसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि प्रमुख अतिथिलगायत उपस्थित सबैले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

प्रा. डा. विष्णु घिमिरेले आदिकवि भानुभक्तको जीवन, व्यक्तित्व तथा नेपाली भाषा–साहित्यमा उहाँको योगदानबारे प्रकाश पार्नुभएको थियो। भानुभक्तको जीवनीको चर्चा गर्ने क्रममा प्रा. डा. घिमिरेले ‘संस्कृत भाषाका श्लोकहरु कण्ठ पार्ने र संस्कृत भाषामै नयाँ साहित्य सृजना गर्ने परिपाटी बसिरहेको नेपाली समाजलाई उहाँले लिखित् रूपमै नेपाली साहित्यमा स्थापित गर्नुभएको बताउनुभयो। एकातिर आफ्नै गतिमा बगिरहेको खोलालाई अर्कोतिर फर्काउन सहज नभएता पनि यो आँट र साहस भानुभक्तले गर्नुभयो र सफल पनि हुनुभयो, फलस्वरुप अहिलेको नेपाली साहित्य भानुभक्तले कोरेको लयमा नि:सन्देह बगिरहेको छ” भन्नुभयो ।
महासचिव राजु सिटौलाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले नवनिर्वाचित अध्यक्ष लालगोपाल सुवेदीलाई तथा निवर्तमान कोषाध्यक्ष तारा अधिकारीले नवनिर्वाचित कोषाध्यक्ष पुष्पा खनाललाई पद हस्तान्तरण गर्नुभएको थियो। निर्वाचन आयुक्त डा. मुकुन्द वाग्ले ‘पथिक’ ले निर्वाचन समिति संयोजक डा. चूडामणि खनाल र सदस्य अम्बिका लोहनीको उपस्थितिमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गर्नुभयो।
प्रमुख अतिथि शरदराज आरण, निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा तथा संस्थापक अध्यक्ष होमनाथ सुवेदीले नवनिर्वाचित पदाधिकारीहरूलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो। निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको योगदानका लागि निर्वाचन समितिका सदस्यहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो। नवनिर्वाचित अध्यक्ष लालगोपाल सुवेदीले अनेसासलाई विश्वभरका नेपाली साहित्यकारहरूको साझा संस्थाका रूपमा अझ प्रभावकारी र सिर्जनशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थापक अध्यक्ष होमनाथ सुवेदी र बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्माले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको गरिमा अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको दोस्रो चरणमा गोमा पोखरेल न्यौपानेको कृतिको विमोचन गरिएको थियो। उक्त कृतिमाथि अनेसास बोर्ड अफ ट्रस्टिजका उपसभापति तीर्थराज पाण्डेयले समीक्षा प्रस्तुत गर्नुभएको थियो। त्यसपछि सुदीपभद्र खनाल, ऋषवदेव घिमिरे लगायत स्रष्टाहरूले कविता तथा साहित्यिक रचनाहरू वाचन गर्नुभएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शरदराज आरणले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा अनेसासले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले विश्वभर छरिएका नेपाली स्रष्टाहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्न अनेसासले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। कार्यक्रमको अन्त्यमा सभापति सर्वज्ञ वाग्लेले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।













