-डा. डी. आर. उपाध्याय खनाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारले त्यति राम्रो काम गरेर देखाउन सकेन । अहिलेसम्म हेर्दा सरकारको आगामी यात्रा त्यति सहज हुने कुनै सङ्केत देखिँदैन । दलहरु पुरै सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन् । राष्ट्रपतिको बिषयलाई लिएर दलहरु छिन्न भिन्न हुने सङ्केत देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसको हातमा पार्ने दाउ खेल्दै छन् ।
हिजो पनि प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा बीच बालुवाटारमा गम्भीर बार्ता भएको समाचार आएको छ । यसो भयो भने नेकपा एमाले बिच्किने र सत्ता गठबन्धन धरापमा पर्ने सङ्केत देखिएको छ । प्रधानमन्त्री दाहाल आफै पनि अस्थिर स्वभावका छन् । उनको कारणले देश अस्थिरता तर्फ धकेलिने ठूलो सम्भावना देखिएको छ । सत्ता गठबन्धन निर्माण गर्दा एमालेसँग गरेको भद्र सहमति प्रचण्डले कार्यान्वयन गर्दैनन् भने उनी आफै संकटमा पर्ने छन् । दाहालको यो अस्थिर स्वभावले मुलुक दुर्घटना तर्फ जाने त होइन ? भन्ने प्रश्न पनि उठने गरेका छन् ।
बर्तमान सरकार पुरै असफल बन्दै गएको छ । खास केही राम्रा र लोकप्रिय काम गरेर देखाउन सकेको छैन । कुरा मात्र गरेर हुँदैन, काम गरेर देखाउनु पर्छ । यो सरकार आसेपासे र आफ्ना कार्यकर्ता भर्ति गर्न मात्र केन्द्रित बनेको छ l अरु यसले माखो मार्न सकेको छैन । सरकारको कामको खास मूल्यांकन सय दिन पछि गरिन्छ । तर सरकारको आलोचना गर्न हतार भए जस्तो होला । भात पाक्यो कि पाकेन भन्ने कुरा भातको सिता छामेर पत्ता लगाउन सकिन्छ । हामीले भातको सिता छामिसकेका छौं । अब १०० दिन कुर्न पर्दैन ।
वर्तमान सरकार गठन भएको सय दिन अझै पूरा भएको छैन । सरकारका प्रारम्भिक काम हेर्दा त्यति चित्त बुझाउने ठाउँ छैन । मुलुक भ्रष्टाचार र कुशासनको दुष्चक्रमा फसेको छ । सरकारले अहिलेसम्म कुनै राम्रो काम गर्न सकेन । जनताको दुःख सुख बुझेर जनमैत्री काम अघि बढाउन सकेको छैन । अनि यो सरकारवाट जनताले अरु के आश गर्ने ? राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत र पार्टीगत स्वार्थमा लिप्त छन् । देश र जनताको कुनै चासो र सरोकार तिनीहरुलाई छैन । बर्तमान सरकारले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सकेन । आमजनचाहना बिपरित दल र तिनका नेताहरु अघि बढ्दै छन् ।
सिंहदरबार प्रवेश गरेपछि धेरै शासकहरु अन्धा बन्ने गरेका छन् । यो सरकार पनि अन्धो छ । कवि भूपि शेरेचनले त्यसै भनेका रहेनछन् घुम्ने मेच माथि अन्धो मान्छे । घुम्ने मेच माथिका मान्छे अन्धा हुँदा रहेछन् । शक्ति र सत्ताको मातले नेताहरु उम्लेका छन् । जनताका तमामखाले समस्या ज्यूँका त्यूँ छन् । ती समस्या समाधान गर्न कुनै शासक गम्भीर बन्न सकेनन् । राजनीतिक दल र तिनका नेताहरु सुध्रने लक्षण अझै पनि देखिएको छैन ।
राजनीतिक दलका नेता नै मुलुकप्रति बेइमानी गर्दै छन् । शासकको सबैभन्दा ठूलो बदमासी बेइमानी हो । उनीहरूको बोलाइ र गराइमा ठीक उल्टोपन देखिन्छ । नेता र शासकले बोलेअनुसार व्यवहारमा कुनै कुरा उतार्न सकेका छैनन् । विगतमा केही अपवाद छोडेर धेरै मन्त्रीहरू त्यस्तै गलत धन्दामा लागेका प्रसस्त उदाहरणहरू छन् । वर्तमान सरकारका धेरै मन्त्रीबाट खासै आशा गर्ने ठाउँ छैन । देशमा नाटक मञ्चन हुँदैछ । नेताहरु जे बोल्छन् त्यो व्यवहारमा देखाउन सकेका छैनन् । अहिलेसम्म सरकार र मन्त्रीहरूले राम्रो कामको सुरुवात गर्न सकेको देखिँदैन । त्यसविपरीत पुरानै परम्परा अनुसारका कामहरू गर्न थालेका छन् ।