क्यान्सर पीडित गीतकार टीका चामलिङलाई रु. ४ लाख ३५ हजार ७ सय ३९ हस्तान्तरण

क्यान्सर पीडित गीतकार टीका चामलिङलाई उपचार सहयोगका लागि रु. ४ लाख ३५ हजार ७ सय ३९ हस्तान्तरण गरिएको छ । हङकङमा रहेका गीतकार संघ नेपालका आजीवन सदस्य बज्रकुमार थुलुङ राईको संयोजनमा हङकङमा संकलन भएको सहयोग रकम रु. ४ लाख र गीतकार संघ नेपालमा संकलन भएको ३५ हजार ७ सय ३९ गरि जम्मा ४ लाख ३५ हजार ७ सय ३९ रुपैया हस्तान्तरण गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ , महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडा, र डा.भक्त राईले गीतकार चामलिङको निवास भक्तपुरमा पुगेर सो रकम हस्तान्तरण गरेका हुन् ।

तीनदशकदेखि कविता, गीत लेखनमा सक्रिय गीतकार चामलिङ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हुन् । उनी विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित भएर उपचार गराइरहेका छन् । उपचारको क्रममा उनको आर्थिक अवस्था कमजोर भएपछि गीतकार संघ नेपालले सहयोगका लागि अपिल गरेको थियो । संघको अपिल पछि देशविदेशमा रहेका सहयोगी दाताबाट रकम संकलन भएको थियो । यसअघि गीतकार संघ नेपालले २५ हजार रुपैया संस्थागत रुपमा सहयोग गरेको थियो ।