विक्रम जङ्गको ‘झ्याप्पै माया’ सार्वजनिक

-प्रकाश बराईली ‘अभिव्यक्ति’

लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत-सङ्गीतको क्षेत्रमा क्रियाशील बिक्रम जङ्ग शाहले आफ्ना पछिल्लो समयका खोला खाल्छी हे माया, हेर्छौ तन्की तन्की, गर्ल फ्रेन्ड छोडें मैले लगायतका गीतहरुको चौतर्फी सफलतापछि ‘झ्याप्पै माया’ बोलको गीत लिएर आएका छन् । उनी चलचित्र निर्माता समेत हुन् । नेपाली चलचित्रमा मौलिक लोक दोहोरीका स्वाद सामेल गर्न पनि उनले निकै राम्रो भूमिका निर्वाह गरेका छन् । बिक्रम राष्ट्रिय सङ्गीतकर्मी सङ्घका निवर्तमान अध्यक्ष समेत हुन् ।

उनको पछिल्लो गीत ‘झ्याप्पै माया’ मा बिक्रम जङ्ग शाह र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । बिक्रम क्षणिक चर्चा भन्दा पनि लोकप्रिय हुन रुचाउँछन् । यसकै कारण उनले विकृतिजन्य गीतलाई सधैंओझेलमा राखेका छन् । उनका कैयौं गीतले नेपाली लोक तथा दोहोरी गीत-सङ्गीतको क्षेत्रमा छुट्टै इतिहास रच्न सफल भएका छन् । बिक्रम जङ्ग शाहकै लय तथा शब्द सृजनामा तयार भएको ‘झ्याप्पै माया’ बोलको गीतको भिडिओ पनि निकै आकर्षक बनेको छ ।

भिडिओमा शिब थापा, आयुष्मा कार्की र कुमार श्रेष्ठको अभिनय देख्न सकिन्छ । शिशिर बुढाथोकीद्वारा निर्देशित यस भिडिओको छायाङ्कन दीपक गिरीले र सम्पादन कल्पेश बिस्वकर्माले गरेका हुन् । कलाकार बिक्रमले आफ्ना पहिलेका गीत तथा भिडिओलाई झैं यसलाई पनि श्रोता तथा दर्शकहरुले मन पराउने विश्वास व्यक्त गरेका छन् ।