सन्तोष दुमीको सङ्गीतमा बालगीत ‘भुर्र भुर्र चरा’ को भिडिओ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय सर्जक/कलाकार सन्तोष दुमी राईको सङ्गीतमा रहेको बालगीत ‘भुर्र भुर्र चरा’ को भिडिओ सार्वजनिक भएको छ l कोईराला सूर्यकिरणले रचना गरेको यस गीतमा तीनजना बाल गायिका निश्मा मगर, सुकृति कोईराला र सिरिङ गुरुङले स्वर दिएका छन् भने गीतमा देवेश राईको सङ्गीत संयोजन र माष्टरिङ रहेको छ l भिडिओ सङ्गीतकार सन्तोषकै आधिकारिक युट्युब च्यानल SANTOSH DUMEE बाट डिजिटल बजारमा आएको हो l

बालशुलभ भावना र सकारात्मक सन्देशमूलक यस गीतको भिडिओ काठमाण्डौ विद्यालय प्राङ्गणमा छायाङ्कन गरिएको हो भने भिडिओमा सोही विद्यालयका सयौं विद्यार्थीहरुले समेत नृत्य/अभिनय गरेका छन् l गाउँले इन्टरटेनमेन्ट मिडियाको पोष्ट प्रोडक्सन रहेको यो भिडिओ गंगाराम राईले तयार पारेका हुन् l

लगभग साढे २ दशक अघिदेखि सङ्गीतकर्ममा क्रियाशील रहँदै आएका सन्तोष दुमीले स्वर र सङ्गीत गरेर हालसम्म २५० भन्दा बढी गीत रेकर्ड गरिसकेका छन l उनका ‘घामले आँखा खोलिसक्यो’, ‘रातभरि जून रुँदा’, ‘मुस्कुराई बस तिमी’, ‘निलो आकाश ढाकेर’, ‘सुलाम सिंसो’ ( दुमी गीत ), ‘पर्खि बस्नु है मलाई’, ‘बादलुको पर्दाभित्र’, ‘ईंकी तुम्लो रिदुम् हदुम्’ ( दुमी गीत ), मैले के भूल गरें र’, ‘नुगोबिताम नु आते आस्ता’ ( दुमी गीत ), ‘के नै रैछ र जिन्दगी’, ‘साल्पै राजा’, एयर बस फोर्टी आदि गीत सर्वाधिक लोकप्रिय रहेका छन् l एल्बमको रुपमा भने हालसम्म उनको ‘छाल’ (संयुक्त सङ्गीत), ‘ज्यानमाया’ (लोकजुहारी), ‘बस्तीहरु’ (आधुनिक), ‘पत्थरहरु’ (आधुनिक), ‘कोपिला’ (बालगीत) र ‘पुञ्ज’ भाग-१ र २ (बालगीत) प्रकाशित छन् l

सन्तोष यदाकदा गीत लेख्ने पनि गर्छन् । ‘तिम्रो सम्झनामा आज मुटु दुखेको छ’ (शब्द/सङ्गीत: सन्तोष दुमी, स्वर: जगदिश समाल), ‘जीवन घट्यो दिन दिन’ (शब्द/सङ्गीत: सन्तोष दुमी, स्वर: शम्भु राई र सुक्मित गुरुङ) र विभिन्न स्कुलका गानहरु रहेका छन् । उनले ‘सोल अफ द कमाण्डो’ र ‘श्रद्धाञ्जली’ नामका दुई चलचित्रमा सङ्गीत दिएका छन् l जसमध्ये ‘श्रद्धाञ्जली’ प्रदर्शनमा आएको छैन l