फरक प्रस्तुति मन पराउने बानीले फेशन डिजाइनमा जमेकी उषा

उषा शिवाकोटी फेशन डिजाइनको क्षेत्रमा एक स्थापित नाम हो l उनले आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आईरहेकी छिन् l झापा स्थायी घर भएकी उनी सानैदेखि फरक प्रस्तुति मन पराउने भएकैले यो पेशातर्फ आकर्षित भएको बताउँछिन् । पछिल्लो समय मन परेका डिजाइनमा लुगा बनाउन दिने चलन बढ्दै गएको छ । ‘फेशनमा धेरै परिवर्तन भएको छ, उपभोक्ता धेरै ‘चुजी’ छन्’, उषा भन्छिन् । बजारमा कुनै नयाँ डिजाइन भित्रिने बित्तिकै त्यसलाई प्रयोग गर्न उपभोक्ता आतुर हुने गरेको उनी बताउँछिन् । उषा भन्छिन्- ‘सामाजिक सञ्जाल तथा अनलाइन शपिङ साइट्सबाटै पहिरन हेरेर पछ्याउनेको संख्या पनि बढ्दै गएको छ ।’

पछिल्लो समय फेशन ट्रेन्ड ‘मिक्स एण्ड म्याच’ शैलीको रहेको उनी सुनाउछिन् । शरीर सुहाउँदा पोशाक सबैको प्राथमिकतामा रहेको हुन्छ । ‘फेशन डिजाइन एउटा कला हो । बिहे, पार्टी, चाडपर्वमा मात्र होइन अरुबेला पनि नयाँ क्रिएशनमा डिजाइन गरिएको ड्रेस लगाउन थालिएको छ’, उषा भन्छिन् । प्रविधि र पहिरन चेतनाको विकाससँगै पछिल्लो समय रोजाई पनि विस्तारित हुँदै गएको छ । ग्राहकको फेशनचेतले डिजाइनमा पनि विविधता ल्याएको छ ।

परम्परागत र आधुनिकता मिसाएर गरिएको फ्युजन डिजाइनमा उपभोक्ताको आकर्षण बढ्न थालेको फेशन डिजाइनर उषाको अनुभव छ । ग्राहकको कलर टोन, शारीरिक बनावट र वर्णलाई ध्यान दिएर सुहाउँदो पहिरन तयार पार्दा उनीहरु खुशी हुने गरेको उषाको बुझाइ छ ।