शब्दयात्रा प्रकाशनद्वारा अतिथिगृहको सञ्चालन, एकान्तप्रेमी सर्जक-साधकहरुलाई उपयोगी हुने

बनेपामा लेखक, अनुसन्धाता, पत्रकार, कलाकार आदिका लागि अतिथिगृह सञ्चालन गरिएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयको उपयोग गरी एकान्त र रमणीय स्थानमा बसेर लेखन, सम्पादन, पठन, अनुवाद, अन्वेषण, अनुसन्धान र साङ्गीतिक सिर्जना गर्न चाहने लेखक,साहित्यकार, पत्रकार, अन्वेषक, अनुसन्धाता, कलाकार, सङ्गीतकार आदिका लागि साधनास्थल उपलब्ध गराउन अतिथिगृह सञ्चालन गरिएको थाहा भएको छ ।

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा बनेपामा अवस्थित कृष्णगीता परिसर शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा सञ्चालित यस अतिथिगृहलाई ‘शब्दसाधक अतिथिगृह’ नाउँ दिइएको छ । अतिथिगृहको उद्घाटन शब्दयात्रा प्रकाशन १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा आज जेठ १५ गते शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लीलादेवी श्रेष्ठ र जग्गादाता कृष्णमणि कुइकेलकी आमा धनकुमारी कुइकेलले संयुक्त रूपमा गर्नुभएको छ । प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सञ्चालित आजको कार्यक्रमका प्रमुख अतिथि डा. बद्री पोखरेल र सभापति धनकुमारी कुइकेल हुनुहुन्थ्यो । अतिथिगृहको पहिलो अतिथि लेखक डा. इन्दुल केसी बन्नुभएको छ । उहाँले शब्दसाधक अतिथिगृहको आफू पहिलो अतिथि बन्ने घोषणा कार्यक्रममै गर्नुभएको थियो । ..