‘मिस नेपाल पिस’का प्रतियोगीले देखाए अतिरिक्त ट्यालेन्ट

नर्सिङ सुन्दरीहरुको सहभागिता रहने एकमात्र सौन्दर्य प्रतियोगिता एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को विजेता आगामी जेठ ५ गते आयोजना हुने कार्यक्रमका बीच छानिने भएको छ । प्रतियोगितामा २४ सुन्दरी शीर्ष उपाधिका लागि भिड्दै छन् ।

फाइनल अगाडि प्रतियोगिताको ‘ट्यालेन्ट राउन्ड’ आयोजना भएको छ । जसमा सबै प्रतियोगीले आफूमा रहेको नृत्य, गायनलगायत विभिन्न ट्यालेन्ट देखाएका छन् । ट्यालेन्ट राउण्डमा रोशन गहतराज (कोरियोग्राफर), डा. स्कृति मास्के (सह-प्रोफेसर), रोनिश खड्गी ( विजेता मोडल हन्ट नेपाल २०२४), नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), सजना केसी ( एनक्लेक्स नेपाल एमडी), कोसिस क्षेत्री (गायक तथा कलाकार) लगायत निर्णायक रहेका थिए । ट्यालेन्ट राउण्डको विजेता पनि फाइनलमा घोषणा गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगिताको यो ७ औँ संस्करण हो । यस संस्करणमा प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नबिना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सिमा राउत, रिया जोशी, गुञ्जना बाँस्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्षा कोइराला, विधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल र पला रेग्मी प्रतियोगी रहेका छन् । सबै प्रतियोगीहरुले फाइनल स्पर्धाको लागि सञ्चार, कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षणबाट आफूलाई निखार्दै छन् । प्रतियोगिताको शीर्ष विजताले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहार समेत जित्ने छन् ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । अन्तर्राष्ट्रियस्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने प्रतियोगिताको उद्देश्य रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रवन्ध निर्देशक यतना पाण्डेले बताइन् ।