गीतकार प्रकाश सुवेदीले कास्की जिल्लाका रूपाताल, बेगनासताल, माझीकुना, सुन्दरेडाँडा र सो वरपरका स्थानहरुलाई समेटेर तयार पारेको `आहा कति सुन्दर ठाउँ´ बोलको गीति भिडिओ सृजना र सेरेफेरो नामक युट्यूव च्यानल मार्फत सार्वजनिक गरेका छन् । वसन्त सापकोटाले सङ्गीतवद्ध गरेको यस गीतमा विवश पौडेलले सङ्गीत संयोजकको काम र बिमल पराजुलीले स्वर दिने काम गरेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ भन्ने मान्यताका साथ विगत केही वर्षदेखि गीत सङ्गीत तथा श्रव्यदृष्य माध्यमबाट अगाडि बढिरहेका प्रकाशले यस अगाडि पनि विभिन्न स्थानीय तहहरुको परिचयात्मक गीति भिडिओ तयार पारेका थिए । `आहा कति सुन्दर ठाउँ´ बोलको गजल प्रकाशले वि. सं. २०६१ सालमा `अक्षरयात्रा´ नामक साहित्यिक कार्यक्रममा रूपाताल र बेगनासतालको बिचमा रहेको अत्यन्तै मनमोहक ठाउँ सुन्दरेडाँडामा बसेर लेखेका थिए ।
हुन त सुन्दरेडाँडा प्रकाशको आफ्नै गाउँठाउँ भएता पनि यो ठाउँको बारेमा केही लेख्ने वातावरण अक्षरयात्राले नै दिलाएको उनी बताउँछन् । किनकि अक्षरयात्रामा सहभागी हुने हरेक सर्जकले निश्चित समयभित्र कुनै पनि रचना सृजना गरेर त्यहीं नै सुनाउनुपर्थ्यो। सो कार्यक्रमा उपस्थित हुने कविहरुले विविध विषयमा भिन्न भिन्न खालका सृजना लेखेर वाचन गरेका भएता पनि प्रकाशले यही ठाउँकै वर्णन गरेर सृजना गर्नुपर्छ भन्ने सोचेर यो गजल लेखेर कुरा सुनाए । ‘आहा कति सुन्दर ठाउँ दुवैतिर ताल रैछ तालमाथि माझी दाइको माछी मार्ने जाल रैछ’ प्रकाशले २०६१ सालमा लेखेको गजल २०६९ सालमा सङ्गीतकार वसन्त सापकोटालाई वाचन गरेर सुनाएपछि वसन्तलाई पनि सङ्गीतबद्ध गरौं गरौँ लागेपछि यसमा स्वर भर्ने कार्य अगाडि बढ्यो र पोखरेली गायक विमल पराजुलीको स्वरमा रेकर्ड गरियो ।

अहिले सर्जकले सृजना गरेको करिव करिव २ दशक पछाडि यो गजलको भिडिओ निर्माण गरेर सार्वजनिक गरिएको छ । गजलमा बेगनास र रूपाको प्राकृतिक सुन्दरतालाई वर्णन गरिएको हुँदा यसमा मानवीय पात्रहरु भन्दा पनि बेगनास, रूपा, माझीकुना, सुन्दरेडाँडा लगायतका सुन्दर स्थानहरु नै मानवेतर पात्रको रूपमा उभिएका छन् । सर्जक स्वयंको आफ्नै परिकल्पनामा भिडिओ तयार पार्ने क्रममा प्रकाशलाई ड्रोनमा विकास ताम्राकार (विकू), एञ्जल गुरुङ र विकास लामाले र सम्पादनमा वीरेन्द्र भाट विपिनले साथ दिएका छन् ।














							
							
							
							
							
							
							
							
							
							
							
							
							
							
							
							