गजलकार शान्ति शर्माको `नसोधिदेऊ बिन्ति´ सार्वजनिक

-प्रकाश सुवेदी


गजलकार शान्ति शर्माको `नसोधिदेऊ बिन्ति´ बोलको गजल यही असार ४ गते शान्ति शर्मा युट्यूव च्यानल मार्फत नेपाली सङ्गीत बजारमा सार्वजनिक भएको छ l जसमा पछिल्लो समयका बहुचर्चित सङ्गीतकार हरि लम्सालको सङ्गीत, सुरज श्रेष्ठको सङ्गीत संयोजन र कर्णप्रिय स्वरकी धनी गायिका बानिका प्रधानको स्वर रहेको छ । अकेष्टिक इन्टरनेशनल नेपालमा रेकर्डिङ भएको सो गजल प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गजलको मर्म अनुसार प्रेम र घात-प्रतिघातको विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडिओमा चर्चित नायक धीरेन शाक्यको साथमा सर्जक स्वयंले अभिनय गरेकी छन् ।

निशान घिमिरेको निर्देशन तथा सम्पादनमा तयार गरिएको यो भिडियो पछिल्लो समयका चर्चित एवं कुशल क्यामेरामेन उत्तम हुमागाईँले छायाङ्कन गरेका हुन् । जब प्रेममय जीवनमा एक अर्काको साथ रहन्छ प्रेमी होस् या प्रेमिका उसले आफूलाई कुवेर जत्तिकै धनी ठान्दछ र जब त्यही प्रेम टुक्रिन्छ तब जीवन निस्सार र खोक्रो बन्छ भन्ने भाव बोकेको यस गजलको सङ्गीत र गायन पक्ष अत्यन्तै सबल छ ।

शान्ति शर्माद्वारा लिखित कविता सङ्ग्रह `सपनाको समाधि´ को लोकार्पण समारोह पारेर सार्वजनिक गरिएको यस गीति भिडियोको वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले समीक्षात्मक मन्तब्य दिएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा विशेष अतिथिको रूपमा गैर आवासीय नेपाली सङ्गठनका पूर्व अध्यक्ष जीवा लामिछाने रहेका थिए । प्राज्ञ डा. देवी नेपाल, प्रल्हाद पोखरेल, मोमिला जोशी र आङदाबा शेर्पाले सपनाको समाधिमाथि समीक्षा गर्दै कृतिकारलाई शुभकामना दिएका थिए ।

दियालो साहित्य सरगमको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा सभापतिको भूमिकामा शिवराम खड्का र कार्यक्रम सञ्चालकको भूमिकामा गणेश खतिओडा रहेका थिए । समारोहमा नेपाली साहित्य, सङ्गीत र कला क्षेत्रका बरिष्ठ व्यक्तित्वदेखि कनिष्ठ अनुरागीहरुको भव्य उपस्थिति रहेको थियो ।