चैत २५ गतेदेखि ३० सम्म टुँडिखेलमा आयोजना हुन गईरहेको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ को लागि आवेदन फारम खुल्ला गरिएको कुरा थाहा भएको छ । विजेताहरुलाई खुल्ला लोकदोहोरी प्रतियोगिताको इतिहासमै सर्वाधिक पुरस्कार राशी प्रदान गरिने कुरा प्रतियोगिताका आयोजकले जानकारी गराएका छन् । प्रतिस्पर्धामा भाग लिनका लागि www.rastriyalokdohorimahotsab.com बाट टिम दर्ता फारम भर्नुपर्ने कुरा समेत आयोजकले बताएका छन् ।
प्राप्त जानकारी अनुसार प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार रू. ५ लाख, दोश्रो हुनेले नगद रू. ३ लाख, तेस्रो हुनेले नगद रू. २ लाख र सान्त्वना पुरस्कार प्राप्त गर्ने टिमले नगद रू. १ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताईएको छ । उत्कृस्ट गायक तथा गायिकाले नगद रू. २५ हजार र नव प्रतिभाले नगद रू. २० हजार प्राप्त गर्ने छन् । यसपटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगिता सहितको साँस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले अनुमान गरेको छ ।
टुँडिखेलमा आयोजना हुने यो कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मान सहितको साँस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको समेत सहभागिता रहने छ । आयोजक संस्था डिएआर मुभिजले यसअघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाका स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएका छन् ।