डा. उपाध्यायको शब्द / स्वरमा चेपाङ विशेष जागरण गीत


कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायको जागरण गीत सार्वजनिक भएको छ । चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा छायाङ्कन गरिएको गीतको भिडिओ सार्वजनिक भएको हो । सन्तोष श्रेष्ठको सङ्गीत रहेको सो गीतमा डा. उापध्यायको नै स्वर रहेको छ ।

गीतमार्फत चेपाङ समुदायको भावनालाई बाहिर ल्याउन कोसिस गरिएको कुरा गीतकार डा. उपाध्यायले भन्नुभयो । चेपाङ समुदायका समस्यालाई समाधान गर्न राज्यबाट पहल हुनुपर्ने, साथै विभिन्न जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आशय लिएर आफूले सामाजिक सन्देशमूलक गीत सार्वजनिक गरेको उहाँले बताउनुभयो ।

माइकल चन्दको निर्देशन र उत्सव दाहालको छायाङ्कन रहेको सो गीतको भिडिओमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसाल लगायतलाई देखाइएको छ ।

अनिता ग्वाच्छाको शृङ्गार रहेको सो भिडिओमा सिलन लम्सालको सम्पादन छ । यो जागरण गीतको भिडिओ डी.आर. म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

कीर्तिमानी गीतकार डा. उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा गर्नुभएको छ । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिज बुक वर्ल्ड रेकर्ड सहित ८० विश्व रेकर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने लक्ष्यका साथ तयारी गरिरहेको केहीदिन अघि राजधानीमा गरिएको पत्रकार भेटघाटमा जानकारी गराउनुभएको थियो ।

गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोता/दर्शकमाझ आएका छन् ।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य चार वटा सात एल्वम छिट्टै सार्वजनिक गर्ने बताउनुभएको छ ।