मोडलिङ्मा फरक पहिचान बनाएका शंकर चलचित्र खेल्दै

राजेन्द्र आचार्य, चितवन


सरल र निडर स्वभावका शंकर सेढाईले एउटा आशलाग्दो र उदाउँदो कलाकारको परिचय बनाईसकेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका भण्डारा बजारमा घर भएका सेढाई यतिबेला राजधानी काठमाडौँमा सङ्घर्षरत छन् ।

सानै उमेरदेखि मोडलिङ रुचाउने शंकरले पूर्ण रूपले मोड्लिङ गर्न थालेको करिब ४ वर्ष मात्र भएको छ । यो अवधीमा उनी धेरै दर्शकको माया पाउन समेत सफल देखिएका छन् । सन् २०१६ मा सम्पन्न मोडल हन्ट प्रतियोगितामा टप फोटो जेनिकको उपाधी पाएसगैँ आफूले यो क्षेत्रलाई व्यावसायिक रुपमा अगाडि बढाएको उनले बताए । त्यसयता उनले यो अवधीमा नेपालका बिभिन्न शहरमा २५ भन्दा बढी फेसन शोमा मोडल भई काम गरिसकेका छन् भने १ दर्जन बढी फेसन शोमा कोरियोग्राफरको रुपमा अनुभव बटुलेका छन् ।  

स्कूल अध्ययनकै क्रममा अभिनयमा रुचिका कारण समेत आफू मोडलिङ्मा आउन सजिलो भएको उनले बताए । छोटो समयमा धेरै चर्चा बटुलेका शंकरले बिभिन्न शोमा प्रस्तुत गरेको अभिनय जिवन्त भएकै कारण उनी चर्चामा रहेका हुन् । यस्तै यो अवधीमा बिभिन्न प्रिन्ट र टिभिसि एडमा समेत अभिनय गरेर शंकरले आफ्नो क्षमता प्रस्तुत गरेका छन् । बिभिन्न ईभेन्ट र म्याग्जिनका लागि उनले गरेको फोटो सुटले समेत उनलाई थप चर्चामा पुर्याउने गरेको छ । शंकर भन्छन् – ‘मोडलिङ फरक भएपनि लगनशीलता र मिहिनेतकै कारण बिस्तारै अगाडि बढिरहेको छु ।’

मारुनी फिल्ममा सहायक कलाकारको रुपमा अभिनय गरिसकेका शंकरले छिट्टै राम्रो र फरक पहिचान दिने चलचित्रमा नायकको भूमिकामा आउन लागेको जानकारी गराए । बिभिन्न चलचित्रका अभिनय कार्यशालामा समेत उनले जनाएको सहभागिताले गर्दा उनलाई धेरै अफर आए पनि चलचित्रमा आफूले नायकको रुपमा गर्ने पहिलो अभिनय विशेष खालको हुने उनको दावी छ ।

उनी चुनौतीपूर्ण पेशालाई नै अंगालेर त्यसलाई अवसरको रुपमा परिर्वतन गरी मोडलिङप्रति एउटा दरिलो उदाहरण बन्न चाहेको बताउँछन् । स्नातकसम्म अध्ययन गरेका शंकरको लक्ष्य नेपालको एउटा सशक्त मोडल बन्ने हो । शान्त, सरल तथा मिजासिलो स्वभावका शंकर हेर्दा आकर्षक देखिन्छन् । ‘मोडलिङ क्षेत्र आफैंमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो । अभिनय र नृत्य विधामा सम्भावना बोकेका कलाकारहरुले पनि यसैको माध्यमबाट बिभिन्न अवसरहरु पाउँछन्’ उनले भने ।

SUBSCRIBE 👉