कपिल कस्पालको एल्वम ‘महसुस’ र ‘नेपाली शीरको कालो टोपी भक्तपुर भक्तपुर’ बोलको गीतको भिडियो लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान, संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः, वरिष्ठ सङ्गीतकार दीपक जंगम, साहित्यकार जितेन्द्र रसिक, कृष्णमुरारी गौतम, गायक कपिल कसपाल र नगरपालिकाहरुका मेयर उपमयेर लगायत व्यक्तिहरुले भक्तपुरको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएको सो गीतको भिडियो लोकार्पण गरेका थिए । गीतको रचना कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले गरेका हुन् । यस गीतको सङ्गीत तथा सङ्गीत संयोजन बि.बि. अनुरागीले गरेका छन् भने स्वर गायक कपिल कस्पालको रहेको छ । यस गीतलाई सम्पादन, उत्पादन तथा निर्माण व्यवस्थापनको संयोजन साहित्यकार जितेन्द्र रसिकले गरेका हुन् । भिडियो निर्माणको संयोजन भने गायक कस्पालले गरेका छन् । भिडियोमा सिंगो भक्तपुर जिल्लाको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएका छन् ।
लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेमध्वज प्रधानले लोकार्पित गीत तथा भिडियो नयाँ प्रयोग गरेर निर्माण गरिएको विचार राख्दै यसले अन्तर्राष्ट्रिय जगतमा भक्तपुरलाई चिनाउन ठूलो भू्मिका खेल्ने बताए । त्यस्तै संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः, सङ्गीतकार दीपक जंगम लगायतले भक्तपुरको चारैवटा नगरपालिका समटिएको गीत निकै उत्कृष्ट र संस्कृति झल्काउने रहेकोले यो गीतको प्रवर्धन गर्न चारैवटा नगरपालिका लागि पर्नुपर्ने बताए । कार्यक्रममा गीतका संयोजक जितेन्द्र रसिकले गीत निर्माणका बेला भोग्नुपरेका आरोह अवरोहसँगै गीत तयार हुँदा सम्मका अनूभूति विनिमय गरे । गायक कपिल कसपालले गीतले भक्तपुरलाई विदेशमा पनि चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै गीतकार कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले १० वर्षदेखि आफूले देखेको सपना यो गीत रेकर्ड भएसँगै पूरा भएको बताए । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न बनेको यस भिडियोमा भक्तपुरबाट राष्ट्रियस्तरमा योगदान दिन सफल व्यक्तिहरु, बहालवाला मेयर, उपमेयर, कलाकार, साहित्यकार, संस्कृतिविद् र राजनीतिक व्यक्ति लगायतले भिडियोमा अभिनय गरेका छन् ।
यो गीत भक्तपुरको पर्यटन प्रवर्धनमात्र नभई ‘भिजिट नेपाल २०२०’ को लागि पनि उपयोगी गीतका रुपमा प्रस्तुत गरिएको छ । गीतलाई अंग्रेजी भाषामा ‘स्क्रोल’ राखिएकाले पर्यटकहरुले समेत सजिलै बुझ्न सक्ने छन् । यस गीतबाट विश्वभरिका दर्शक – स्रोता तथा पर्यटकले भक्तपुरको सम्पूर्ण कला, भाषा, साहित्य, परम्परा, रीतिरिवाजसँगै समग्र भक्तपुरबारे जानकारी प्राप्त गर्ने छन् । कार्यक्रममा गीतमा योगदान दिने व्यक्तिहरु तेजेश्वरबाबु ग्वंगः, दीपक जंगम, हरि बहादुर थापा, सुवाषचन्द्र ढुंगेल, सोम मिश्र, बिना बास्तोला, अन्जनादेवी मधिकर्मी, कृष्णमुरारी गौतम ‘चट्याङ् मास्टर, कपिल कस्पाल, केन्द्रबिन्दु अनलाइनका वरिष्ठ उपसम्पादक जितेन्द्र रसिक, बि.बि अनुरागी, इन्दिरा लाछिमस्यु, गम्भीरराज विष्ट, नवराज गेलाल सम्मानित भएका छन् ।
त्यस्तै गीतमा योगदान पुर्याउने संस्थाहरु रेडियो हिमालयन ,नमस्ते टि.भि. भादगाउँ टि.भि., रेडियो मस्ती, च्यानल फोर टिभि, भक्तपुर एफएम, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका, भक्तपुर नगरपालिका, योयो बैङ्कक्वेट र कार्यक्रम प्रस्तोता किरण सुवाललाई कदरपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा गायक कपिल कसपालको गीति एल्वम ‘महसुस’ समेत सार्वजनिक भएको छ ।
एल्वममा गीतकार तथा गायक कस्पालको स्वर र सङ्गीतमा रहेका गीतहरु मायाको चेक, मेरोराजा मेरो रानी, आयो दशैं तिहारै आयो, ती यादहरु र ठेकीभित्र मदानी गीत समेटिएका छन् । यी गीतहरुमा चर्चित गायिका अन्जु पन्त, सन्ध्या बुढा ‘काउली बुढी’, अधिश्री कस्पाल, गगन सरगम र कपिल कस्पाल स्वयंको स्वर रहेका छन् । त्यस्तै गीतहरुमा हरि लम्साल, बुद्ध सायमी, निम संगीत, बद्रिनारायण ताम्रकार र गायक स्वयंमको सङ्गीत रहेका छन् । कार्यक्रम रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिले आयोजना गरेको थियो ।