रामकृष्ण ढकालको भिडियो प्रतियोगितामा चयन

लोकप्रिय गायक रामकृष्ण ढकालले गाएको “अचेल पाइलैपिच्छे…” बोलको गीत अमेरिकास्थित न्यूजर्सीमा आयोजना भईरहेको ‘गोल्डेन डोर इन्टरनेशनल फिल्म फेष्टिवल अफ जर्सी सिटी’ नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा  चयन भएको छ ।

यो चयनले हाल अमेरिका-क्यानडा सांगीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई यात्रामा अर्को खुशी थपिएको छ । यस प्रतियोगितामा रामकृष्णको सो भिडियोसँगै लगभग १०० मुलुकका म्युजिक भिडियोहरु प्रतिष्पर्धाका लागि छानिएका छन् । नेपालबाट उक्त एकमात्र म्युजिक भिडियो चयनमा परेको हो ।

हालै साझा प्रकाशनबाट “चराको गीत” नामक  कविता संग्रह प्रकाशन गरेका साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक सङ्गीतको स्वादमा तयार गरिएको हो भने गायक तथा सङ्गीतकार हिमाल सागरको सङ्गीतमा रेकर्ड भएको थियो । यसको म्युजिक भिडियोको  निर्देशन बिक्की पुलामी खड्गले गरेका हुन्  ।

मानवीय जीवनको सफलता-असफलता, आरोह-अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम सङ्गीतका श्रोताहरुले निकै रुचाएको समेत पाइएको छ । आगामी २० सेप्टेम्बर देखि २३ सेप्टेम्बर सम्म चल्ने यस प्रतियोगितामा रामकृष्ण ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने यो पहिलो नेपाली म्युजिक भिडियो समेत हुने छ ।

आफ्नो म्युजिक भिडियो चयन भएकोमा निर्देशक बिक्की पुलामी खडगले हर्षित हुँदै आफूलाई अत्यन्त गर्वको अनुभूति भएको र यो भिडियो अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत हुने आशा समेत रहेको बताएका छन् ।

रामकृष्ण ढकालले गाएको उक्त गीतको म्युजिक भिडियोको लिंक

https://www.youtube.com/watch?v=Z3LgmrlEeek