‘मिस नेपाल नर्थ अमेरिका २०१८’ को विजेतामा मोनिका घले घोषित

न्यु योर्कमा सम्पन्न प्रथम ‘नेपाल नर्थ अमेरिका २०१८’ को विजेतामा मोनिका घले घोषित भएकी छिन् । अगस्त ६ तारिखदेखि तालिम सुरू भई अगस्त ११ तारिख शनिबार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ । प्रतियोगिता न्यूयोर्कस्थित प्रसिद्ध मेलरोज बलरुममा सफलतापूर्वक सम्पन्न भएको हो ।

१७ जना प्रतियोगीहरुमा छनोट हुने प्रतिस्पर्धीहरु अमेरिकाका विभिन्न राज्य, मेक्सिको र क्यानडाबाट आएका थिए भने दोस्रो चरणमा १० र तेस्रो तथा अन्तिम चरणको प्रतिस्पर्धाका लागि ५ जनाको छनोट गरिएको थियो ।

‘प्रथम मिस नेपाल युनिभर्स’ नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिईन् । यसैगरी सन् २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठ र ‘मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८’ तथा ‘मिस वुमेन न्यू योर्क २०१७’ मिस फतेना क्वासेमले प्रतिस्पर्धीहरुलाई कोरियोग्राफीको तालिम दिएका थिए ।

कार्यक्रममा बर्तिका एम राई , हेमन्त राना, विक्की गुरुङ ,धर्मवीर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको प्रस्तुति रहेको थियो । निर्णायकहरुमा क्रमस राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स, स्लेतभाना क्रामर, जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा सम्पन्न गरेको हो ।|कार्यक्रममा मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी, मिस पपुलर (जनताको मतद्वारा ) मा श्वेता खड़का, मिस फोटोजेनिकमा करुणा अधिकारी, मिस स्किनमा आकृति शाह, मिस स्माईलमा सिर्जना राई, मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी, मिस पर्सनालिटीमा सनम थापा, मिस डिसीप्लेनमा श्रद्धा केसी, मिस क्याटवाकमा मोनिका घले, मिस फ्रेन्डसिपमा सुजाता लामा, मिस हेयरमा ज्योति गुरुग र मिस राईजिग स्टारमा स्‍मृति लामिछाने छनोट भएका छन् ।

विजय थापा, अगस्त ११, न्यू योर्क ।

तस्बिर : विक्रान्त मान श्रेष्ठ