ईटहरी / नेपाली चलचित्र ‘ब्ल्याक’ आऊँदो भाद्र १ गतेबाट देशभर रिलिज हुने तयारी भएसँगै प्रचारप्रसारलाई तीब्रता दिंदै कलाकार तथा फिल्म निर्माता लगायत चलचित्र ‘ब्ल्याक’ टिम देशव्यापी प्रचारप्रसारमा लागि परिरहेको छ । प्रदर्शन मिति नजिकिएसँगै आज चलचित्र ‘ब्ल्याक’ टिमले पूर्वको सुन्दर सहर ईटहरीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारद्वय नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मासँगै फिल्मकी निर्माता आश्मा पाण्डे र निर्देशक प्रदिप श्रेष्ठको पनि उपस्थिति थियो ।
हेर्नुस् आकाश र आँचलसँग गरिएको रमाईलो कुराकानी ।
पत्रकार सम्मेलनमा फिल्मकी मुख्य नायिका आँचल शर्माले फिल्मको कथावस्तुलाई प्रस्ट्याउदै भनिन्- ‘अंध्यारोलाई कसरी उज्यालोतर्फ लैजाने भन्ने कुरालाई चलचित्रमा समावेश गरिएको छ’ ।’ फिल्मको बारेमा जानकारी दिदै निर्देशक प्रदीप श्रेष्ठले शुद्ध प्रेम कथामा आधारित रहेर निर्माण गरिएको जानकारी गराए l ‘ब्ल्याक’ सन्देशमूलक चलचित्र रहेको साथै जन्म र मृत्युसँग सम्बन्धित कुराहरुलाई प्राथमिकतामा राखी इन्टरटेनमेन्टलाई पनि समेटेर निर्माण गरिएको उनको भनाई थियो ।
आश्मा पाण्डेको लगानी रहेको चलचित्र ‘ब्ल्याक’ झन्डै दुई करोड पचास लाखको लागतमा निर्माण भएको जानकारी गराइएको छ भने उक्त चलचित्र काठमाडौँ, मुस्ताङ, स्याङ्जा, सिन्धुलीगढी, रारा लगायतका ठाउँहरुमा ७२ दिन लगाएर सुटिङ गरिएको बताइएको छ ।