‘चितवन प्लस टु अफ द ईयर २०१८’ को दोस्रो अडिशन असार २३ गते हुँदै

चितवन : टप वान मिडिया प्रा. लि. चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेशन एकेडेमीको प्रायोजनमा “चितवन प्लस टु अफ द ईयर २०१८” को पहिलो अडिशन असार ९ गते शनिबार सम्पन्न भएको छ भने दोस्रो अडिशन असार २३ गते शनिबार हुने भएको छ l पहिलो र दोस्रो अडिशनबाट छानिएका प्रतिस्पर्धीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिने भएको छ l चितवनको होटल मनास्लु, पुल्चोक नारायणगढमा बिहान ११ बजेदेखि सुरु हुने यस सौन्दर्य प्रतियोगितामा भविष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको कुरा टप वान मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक रब्स सापकोटाले बताएका छन् l

यस प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुका लागि अहिले पनि फर्म वितरण भईरहेको जानकारी प्राप्त भएको छ l प्रतियोगितामा १६ बर्ष माथिका र +२ अध्ययन गर्दै गरेका र +२ दिएर अथवा पास गरेर बसेका बिध्यार्थीहरुले भाग लिन सक्ने कुरा थाहा भएको छ l विजेतालाई राष्ट्रिय स्तरका अन्य प्रतियोगिताहरुमा भाग लिनका लागि पहल गर्ने सहित चलचित्र र म्युजिक भिडियोमा समेत अवसर दिईने कुरा आयोजकले जानकारी गराएका भएपनि त्यसका लागि कुन कुन संस्था या व्यक्तिहरुसंग सम्झौता भएको छ भन्ने कुरा अहिले खुलाईएको छैन l

प्राप्त जानकारी अनुसार छनोटमा परेका अन्तिम प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफर एवं विषयगत ट्रेनरहरुबाट एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ l जसमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन आदि विषयमा प्रशिक्षण दिईने र प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप , फेशन जस्ता गतिविधिहरुमा समेत सहभागी गराइने कुरा आयोजक रब्स सापकोटाले जानकारी गराएका छन्।