२० औं एल्बममा सङ्गीतकार मनराजा

सङ्गीतकार मनराजा नकर्मीको एकल सङ्गीतमा रहेको नेपाल भाषाको गीति एल्बम ‘ज्वभनया रङ्ग’ [यौवनको रङ्ग ] हालै सार्वजनिक भएको छ l केहीदिन अघि लगनखेलस्थित ललितपुर मलमा आयोजित समारोहमा सो एल्बम औपचारिक रुपमा सार्वजनिक गरिएको हो l यसअघि ‘लेखेर तिम्रो नाम, चोखो माया, खेल्दै गर्दा [बाल], प्रेमल, पहिलो किरण, दुनियाँ, कृति, महसुस, कलाकार, मन्जरी, प्रभूको लिला [भजन] र सुशान्तको स्मृति’ गरी १२ वटा नेपाली भाषाका र   ‘मिखाया अजलं, नानु [बाल], तयजु, मन, सिमाकचा, निर्मल मन, सिमाकचा [डिभिडी]र छेनय तकुस्वां गरी आठवटा नेपाल भाषाका एकल एल्बम प्रकाशन गरिसकेका सङ्गीतकार मनराजाको यो २०औं एल्बम हो l यो एल्बम निस्कनुमा मंगल महर्जन, भाइकाजी महर्जन [नयन] र सुरज महर्जनको विशेष भूमिका रकेको कुरा मनराजाले बताएका छन् l  एल्बममा ‘ज्वभनाया रङ्ग [यौवनको रङ्ग], स्वाँ न्हिल मुसुक [मुसुक्क फूल हाँस्यो], छंगु ख्यालं हे काल [तिम्रो रुपले नै लाग्यो], छं ब्युगु माया [तिमीले दिएको माया], हिसि दुःम्ह मचा [हिस्सी परेको बच्चा ], धारे दाइचा [भन दाइ के भयो ], चमेलिस्वां थे [चमेली फूल जस्तै ], हाय रे व वाउँ चुलि [हाय रे त्यो हरियो कोपिला], जिमि अजा अजि [हाम्रा बाजेबजे], किजा पुजा [भाइटिका], जि द्वाल्खाया [म दोलखाकी], जिगु थ्व अज:मिखा [मेरो यो गाजलु आँखा], स्वरे व मचां थ: [हेर न त्यो बच्चाले आफ्नो हात], झिपि पासा मिलयजुसा [हामी साथी मिलिजुली], हि दान [ रक्तदान] र खिउंथाय जिमिसं [अँध्यारोमा देखेनौ हामीले] गरी १६ वटा विविध भावका गीत रहेका छन् l जसमा तबः मरु, दुर्गालाल श्रेष्ठ, आनन्दरत्न बज्राचार्य, नातिबज्र, मंगल महर्जन, चण्डेश्वर महर्जन, प्रकाशलाल जोशी, त्रिलोचन, निर्मलरत्न शाक्य, धर्मेन्द्र महर्जन र धिर सुवालका शब्द तथा कविता जोशी श्रेष्ठ, सरिता शाही, सतिस महर्जन, मदनकृष्ण श्रेष्ठ, निसा देसार, रत्नशोभा महर्जन, दिपिका बलामी, सुलिन्द्र शाक्य, पवित्र कसाः पासापि, आयुस्ना नकर्मी, सानुबाबु, श्रेया, रिभाना र स्रजलको स्वर रहेको छ l
पिता भिम बहादुर नकर्मी र माता श्रीमाया नकर्मीको कोखबाट २०२३ सालमा काठमाण्डौको बलम्बू, लाछीटोलमा जन्मिएका मनराजाका पहिलो सङ्गीत गुरु उनकै बुबा हुन् भने पछि रामहरि गुरुङसंग पनि उनले औपचारिक ज्ञान लिएका थिए l उनले तबला मुख्य विषय लिएर सङ्गीतमा एम. म्यूज [सङ्गीत प्रवीण] सम्मको अध्ययन पूरा गरेका छन् l हाल रेडियो नेपाल सङ्गीत शाखामा मुख्य सङ्गीत संयोजकको रुपमा कार्यरत मनराजा ०४५ सालबाट सेवामा प्रवेश गरेका भएपनि उनी सानै उमेरदेखि रेडियो नेपालमा बाजा बजाउन जाने गर्दथे l सङ्गीत क्षेत्रमा वरिष्ठ तवलावादकको रुपमा समेत उच्च पहिचान स्थापित गरेका सङ्गीतकर्मी मनराजा सबैजसो तालबाजा बजाउन उत्तिकै पारंगत छन् l उनले हालसम्म नेपाली र नेवारी भाषाका गरी ८ वटा चलचित्रमा सङ्गीत दिएका छन् भने भजन, राष्ट्रिय, बाल, नेपालभाषा, आधुनिक र चलचित्र गरी तीनसयभन्दा बढी गीतमा सङ्गीत दिईसकेका छन् l गद्दी आरोहण रजत महोत्सव पदक-२०५३, ग्लोरी अवार्ड सिंगापुर सन् -२००३, पेज थ्री अवार्ड-२०६६ र नेपालभाषा सङ्गीत अवार्ड-२०५६ बाट सम्मानित मनराजाले वाद्य शिरोमणि उस्ताद गणेशलाल श्रेष्ठको पुण्य स्मृतिमा आयोजित सङ्गीत सम्मेलनमा समेत तबलाबादनमा प्रथम भई गोल्ड मेडल प्राप्त गरेका थिए भने  रेडियो नेपालद्वारा आयोजित ४१औ र ४३औ शास्त्रीय सङ्गीत प्रतियोगितामा २ पटकसम्म उनी तबलावादनतर्फ द्वितीय भएका थिए l मनराजा जति कुशल सर्जक र प्रस्तोताको रुपमा स्थापित छन् त्यति नै एक भद्र र शालीन व्यक्तिको रुपमा समेत उनलाई चिन्ने गरिन्छ l