जान्भी कपुर र सारा अली खान

बलिउडमा यो वर्ष धेरै न्यूकमरहरु भित्रिदै छन् । तीमध्ये सबैभन्दा धेरै चर्चामा छन् जान्भी कपुर र सारा अली खान ।

श्रीदेवीकी छोरी जान्भी र सैफ अली खानकी छोरी सारा स्टार किड्स भएकैले अत्यधिक लाइमलाइट पाइरहेकोमा शंका छैन । यी दुई नवअभिनेत्रीहरुबीच तुलना पनि उत्तिकै हुने गरेको छ ।

जान्भीको डेब्यू फिल्म धडक प्रदर्शनमा आइसकेको छ । शुक्रबार रिलिज भएको यो फिल्म खासै गतिलो मानिएन । अर्कोतर्फ साराको डेब्यू फिल्म केदारनाथ यसै वर्षको अन्त्यमा रिलिज हुनेछ ।

यतिबेला धेरैले जान्भीलाई प्रश्न गरिरहेका छन्, ‘सारासँग तपाईंलाई कत्तिको डर छ ?’

यस्ता प्रश्नबाट आजित बनेको जान्भीले एक अन्तरवार्तामा बताइन् । उनले सारासँग आफ्नो निकै राम्रो सम्वन्ध रहेको भन्दै उनको फिल्मको तीव्र प्रतिक्षामा रहेको उल्लेख गरिन् ।

‘उनी एक प्रतिभाशाली र उर्जावान केटी हुन्,’ जान्भीले साराको बारेमा भनिन्, ‘उनको पहिलो चलचित्रले नै धुम मच्चाउने पक्का छ ।’

उनले सारा र आफ्नो तुलना नगर्न मिडियालाई आग्रह गरिन् ।

‘हामी दुवैसँग आ-आफ्नो क्षमता छ । दुईमध्ये एक सफल र एक असफल हुने होइन । हामी दुवै सफल हुन सक्छौं,’ जान्भीले भनिन् ।