फेरि राजनीतिक सङ्कट थपिदै

-डा. डीआर उपाध्याय


केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु मिलेर जानुहोस् । तपाईहरु नमिलेसम्म बिकाश र समृद्धिको यात्रा पूरा हुने छैन । तपाईहरुलाई एकअर्का विरुद्ध कसले लडाइरहेको छ ? अहिले मुलुकमा राजनीतिक स्थिरता छ । यो बेलामा सुशासन, शान्ति, अमनचैन, उत्पादन अभिवृद्धि, तीव्र विकास र सम्मृद्धि हासिल गर्न कसले छेकेको छ ?

समाजवादका आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी सत्तारुढ नेकपाले पाएको छ । सत्तारुढ नेकपाले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने कि नगर्ने यो गम्भीर प्रश्न हो । यो ऐतिहासिक कार्यभारलाई भुसुक्कै भुलेर नेताहरु आन्तरिक बिवादमा फस्नु राम्रो सङ्केत होइन । यो तीतो सत्य पहिलेदेखि नै सबैका सामु तेर्सिएको छ । नेताहरूलाई धन चाहिएको छ । नेताहरु सिद्धान्त, विचार, नीति, विधि, पद्धति भन्दा आफ्नो ब्यक्तिगत स्वार्थमा छन् । देशको चिन्ता छैन, आफ्नै चिन्ता छ । सत्ता र शक्तिको आडमा राजनीति चलेको छ । समस्या यो हो । नेताज्यूहरू, यो देशलाई माया गर्नुहोस् । यो देशमा अहिले पनि हत्या छ । बलात्कार छ, चोरी, डकैती, गुण्डागर्दी, लुटपाट छ । गरिबी, अभाव र कालो बजारी छ । अन्याय, अत्याचार, शोषण, उत्पीडन छ । यो देश अहिले पनि उनै टाठाबाठाहरूको कव्जामा छ । सोझा जनता भने निरीह बनेर बस्न बाध्य छन् । सर्वसाधरण जनता कष्टपूर्ण जीवन जिउन विवस छन् । लोकतन्त्रका नाममा लुटतन्त्र चलेको छ । यो कसले रोक्ने ?

नेपालमा फेरि राजनीतिक सङ्कट थपिदै गएको छ । आन्तरिक समस्या चुलिँदै छ । राजनीतिक द्वन्द्व पेचिलो बन्दैछ । यसको मूल कारण के हो भने नेतामा दृढ इच्छाशक्ति, दूरदृष्टि र स्पष्ट दृष्टिकोण नभएकोले हो । जबसम्म राजनीतिक नेतृत्वपङ्क्ति सिद्धान्तनिष्ठ, इमानदार, नैतिकवान, सबल र सक्षम बन्दैन तबसम्म देशले विकास, उन्नति र सम्मृद्धिको यात्रा पूरा गर्न सक्दैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यो कुरालाई गम्भीर रूपमा ग्रहण गर्न जरुरी छ । मूल नेतृत्वले यो कुरा आत्मसात नगरे पतनको दिशामा जाने निश्चित छ ।

नेपालमा राजनीतिक परिवर्तन भयो । तर जनताको जीवनमा आधारभूत परिवर्तन भएन । दसवर्षे जनयुद्ध, उन्नाइसदिने जनआन्दोलन, मधेश विद्रोहले राज्य सत्ताको स्वरूप नै बदलिदियो । राजतन्त्र अन्त्य, सङ्घीय लोकतान्कि गणतन्त्र स्थापना भएको पनि डेड दशक भइसक्यो । तर यो राजनीतिक परिवर्तनले जनताको जनजीवनमा कुनै परिवर्तन ल्याउन सकेको छैन ।