–डा. डीआर उपाध्याय
कोरोना भाइरसले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ । भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् । विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरसको प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन । यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ । कोभिड– १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा सङ्क्रमणको जोखिम उच्च देखिएको छ । यो भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण र आधारभूत उपाय भनेकै सावधानी अपनाउनु हो । यसबाट बच्न सकिने उपाय भनेको सरसफाइमा ध्यान दिनु पर्छ । मास्क प्रयोग गर्न छोडनु हुँदैन । हातले नाक, मुख र ऑखा छुनु हुँदैन । बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुनु पर्छ । पोसिलो खानेकुरा खानु पर्छ । माछा, मासु राम्रोसँग पकाएर खानु पर्छ । भीडभाडमा सावधानी अपनाउनु पर्छ । सामाजिक दूरी कायम गर्नु पर्छ । सङ्क्रमित तथा रुघाखोकी लागेका व्यक्तिहरूको सम्पर्कमा रहनु हुँदैन ।
कोभिड विश्वव्यापी महामारी हो । यसबाट विश्वका अधिकांश देश प्रभावित छन् । त्यसमा पनि नेपालजस्ता विकाशोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित भइरहेको अवस्था छ । कोरोना सङ्क्रमितलाई क्वारेन्टाइन, आइसोलेसन र सेल्फ आइसोलेसनका अलावा उपचारका लागि सुविधायुक्त अस्पताल लगायतका पूर्वाधार तयार गरिनुपर्छ । हालसम्म यो भाइरसबाट निको हुने औषधि बनेको छैन । विश्वका बिभिन्न देशले औषधि निर्माण गरेर मानिसमा परीक्षण, अध्ययन गरिरहे पनि विश्व स्वास्थ्य सङ्गठनले कुनैपनि औषधिलाई कोरोना भाइरसको औषधि भनेर मान्यता दिएको छैन । सरकारले मास्क, स्यानिटाइजर, पीपीई लगायत चिकित्सा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ । कोरोना भाइरसका कारण देशको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक लगायत अन्य धेरै क्षेत्रमा समेत दूरगामी असर परिरहेको छ । अर्थतन्त्र सङ्कुचित भएको छ । स्वदेशी तथा विदेशी लगानी रोकिएका छन् । उद्योगधन्दा धराशायी बन्दै गइरहेका छन् । बेरोजगारी समस्या बढ्दै गइरहेको छ । लाखौँ लाख विद्यार्थीहरुको भविष्य अन्योल छ । उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको माग तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रोत्साहन भत्ता र स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा लागू गरिनुपर्छ ।