क्वालिटी फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘जेसुकै होस्’ आगामी पुषमा रिलिज हुने पक्का भएको कुरा चलचित्रका दुई निर्देशक मध्येका एक उमेश गुरुङले जानकारी गराएका छन् l नेपालमै पहिलोपटक ९ दिनमा छायांकन सकाएर छायांकनमा नयाँ रेकर्ड बनाईएको यो चलचित्र समाजका हरेक वर्ग, समुदाय, पेशा, धर्म र उमेर समूहका व्यक्तिहरुको आफ्नै कथा भएको कुरा समेत निर्देशक गुरुङले जानकारी गराए l वर्तमानमा म्युजिक भिडियो निर्देशक/कोरियोग्राफरको रुपमा व्यस्त रहँदै आएका गुरुङले विगतमा ठूला पर्दाका केही चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरिसकेका थिए भने उनको निर्देशनमा निर्माण भएको यो पहिलो चलचित्र हो l छिट्टो शुटिंग सकाएर नयाँ रेकर्ड नै बनाएको यस चलचित्रको निर्माण समूहले रिलिजमा भने केही बढी समय लगाएको छ l ‘धेरै दर्शक तथा शुभचिन्तकहरुले चलचित्र कहिले रिलिज हुन्छ भनेर हामीलाई सोधिरहेका छन् l यसरी चलचित्रको बारेमा चासो राखिनु हाम्रो लागि खुशीको कुरा हो l प्राविधिक कामले गर्दा रिलिज केही ढिला भएको हो l अब सबैको प्रतीक्षाको घडी सकिंदै छ l आउँदो पुषबाट नेपालभर एकैसाथ हामी दर्शक समक्ष पुग्दैछौं’ निर्देशक गुरुङले बताए l
चलचित्र ‘जेसुकै होस्’ मा रोशन श्रेष्ठको पनि निर्देशन रहेको छ भने निर्देशक उमेश गुरुङकै कथा, द्वन्द्व तथा नृत्य निर्देशन रहेको छ l पटकथा/ संवाद एन. बी. अन्जानको र छायांकन मधुर बस्नेतको रहेको यस चलचित्रमा दयाराम पाण्डे, नवराज जंग थापा, कुमार बिबाहित र डी. आर. अटुको शब्दरचनामा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डी. आर. अटुले सङ्गीत दिएका छन् l गीतमा राजेशपायल राई, मिना निरौला, नवराज जंग थापा, रुपक श्रेष्ठ, मेलिना राई र सुधारत्नको स्वर सुन्न सकिन्छ l यसैगरी चलचित्रमा उमेश गुरुङ, नवराज जंग थापा, किस्मत तामांग, रोशन श्रेष्ठ, चन्दा दाहाल, रामचन्द्र अधिकारी, सोनी गुरुङ, प्रकाश जंग थापा आदि कलाकारको प्रमुख भूमिका रहेको थाहा भएको छ l सन्देशमूलक यस चलचित्रमा थिएटरका कलाकारहरु भएका कारण दर्शकले जीवन्त अभिनय हेर्न पाउने निर्माण समूहले जानकारी गराएको छ l वर्तमान अवस्थामा दुर्व्यशनमा लागेर युवावर्ग कसरी आफ्नो स्वास्थ्य र भविष्य बर्बाद पारिरहेको छ भन्ने कुरा देखाउंदै त्यसको सामाधान समेत प्रस्तुत गरिएको हुनाले ‘जेसुकै होस्’ झट्ट नाम सुन्दा नकारात्मक लागेपनि वास्तवमा यो चलचित्र सकारात्मक र सन्देशमूलक भएको कुरा निर्माण समूहले दावी गरेको छ l