प्रतिलिपि अधिकार भन्नु स्रष्टाको सिर्जना उपरको अधिकार हो । कुनैपनि विधाको रचना रचनाकारको बौद्धिक सम्पत्ति हो । वर्तमान नेपालको संविधानले समेत यस्ता बौद्धिक सम्पत्ति उपर स्रष्टाको अधिकार रहने कुरा मौलिक अधिकार अन्तर्गत राखेको छ । नेपालको पहिलो प्रतिलिपि अधिकार ऐन २०२२ होस् या हालको प्रतिलिपि अधिकार ऐन २०५९, दुबैले प्रतिलिपि अधिकारधनीको स्विकृति नलिई अरुको रचना सार्वजनिक प्रयोग गर्न वा नक्कल गरेर प्रयोग गर्न नपाउने व्यवस्था स्पष्ट रुपले गरेको छ । यदि कसैले गरेमा यस्तो कार्यलाई गम्भीर अपराधको रुपमा लिई फौजदारी अभियोग अन्तर्गत मुद्दा चलाई दोषी ठहरेमा कैद, जरिवाना, कसुरसँग सम्बन्धित मालबस्तु जफत र पीडितलाई क्षतिपुर्ति समेत भराउने कानुनी व्यवस्था छ । यस्तो संवैधानिक, कानुनी र प्रशासनिक व्यवस्था हुँदाहुँदै पनि नेपालमा प्रतिलिपि अधिकार उल्लङ्घन गरेर अरुको रचनाको नक्कल गर्ने तथा सार्वजनिक रुपमा प्रयोगमा ल्याउने काम आम रुपमा भईरहेको पाइन्छ । आफ्नो अधिकार उल्लङ्घन गरेर अरुले अनुचित लाभ लिएको अवस्थामा पनि स्वयं प्रतिलिपि अधिकार धनीहरु भने यदाकदा गुनासो गर्ने बाहेक आफ्नो हक स्थापित गर्न कानुनी उपचारतिर अग्रसर भएको पाईदैन । कोही कतै उजुरी गर्न गएपनि गम्भीरतापूर्वक अनुसन्धान गरेर मुद्दा चलाई सजाय भए गरेको उदाहरण पनि देख्न सुन्न पाईदैन । सर्जकका सिर्जनाहरुको महत्व, गरिमा र मूल्य बुझेर प्रतिलिपि अधिकारको उल्लङ्घन गर्ने अर्थात बौद्धिक सम्पतिका लुटेराहरुलाई पर्याप्त सजाय तथा पीडित पक्षलाई उचित क्षतिपुर्ति दिलाउनेखालका न्यायिक आदेश भएको हेर्न, पढ्न र सुन्न पाए यस क्षेत्रमा केही सजगता, जागरुकता र हौसला मिल्ने थियो । यस पङ्क्तिकारलाई यही कुरा खड्केर अन्य मुलुकमा हालै भएका प्रतिलिपि अधिकार हनन् सम्बन्धी न्यायिक आदेश तथा कानुनी व्यवस्था सम्बन्धी घटना यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । यसबाट प्रतिलिपि अधिकारसँग सरोकार राख्ने सबैलाई प्रेरणा र हौसला मिल्ने पनि अपेक्षा गर्न सकिन्छ ।
पहिलो उदाहरण सांगीतिक रचनाको प्रतिलिपि अधिकार हननसँग सम्बन्धित रहेको छ । द गार्जियन पत्रिकामा प्रकाशित समाचार अनुसार ग्रामी अवार्ड विजेता न्युजिल्याण्डका ¥याप गायक इमिनेमले त्यहाँको एक उच्च अदालतमा आफ्नो प्रसिद्ध रचना Lose Yourself को प्रतिलिपि अधिकार हनन् गरेको भनी एक राष्ट्रिय पार्टीे बिरुद्ध नै मुद्दा दायर गरेका थिए । द नेशनल पार्टी नामक उक्त राजनैतिक दलले सन् २०१४ को चुनावमा प्रचारको लागि तयार पारेको साँगीतिक ट्रयाक (चुनावी गीत) हुबहु आफनो रचनाको नक्कल गरेको र यसो गर्दा आफ्नो अनुमती नलिएको गायक इमिनेमले दावी गरेका थिए । रेकर्ड अनुसार सो चुनावी गीत सन् २०१४ मा ११ दिनसम्म १८६ पटक टेलिभिजनबाट प्रसारण गरिएको थियो । यस सम्बन्धमा द नेशनल पार्टीले प्रसारण गराएको सो चुनावी गीत गायक इमिनेमको Lose Yourself गीतको नक्कल हो भनेर गतबर्ष अक्टोवरमा अदालतले ठहर ग¥यो । साथै द नेशनल पार्टीले ६ लाख न्यूजिल्याण्ड डलर गायक इमिनेमलाई लाइसेन्स फि वापत दिनुपर्ने पनि अदालतले आदेश गरेको छ । द नेशनल पार्टीका कानुनी सल्लाहकारले यो क्षतिपुर्ति रकम सैह्य नभएकाले आफ्नो पक्षले पुनरावेदन गर्ने जानकारी दिएका छन् ।
फोटोग्राफर डिर्क रेन्क्होफ { Dirk Renckhoff } ले आफूले स्पेनिस शहर कोरडोवामा खिचेको एउटा तस्वीर यात्रा सम्बन्धी वेबपेज { Reisemagazin schwarzacfweiss } लाई प्रयोग गर्न अधिकार प्रदान गरेकोमा उनले सो वेब पेजबाट डाउनलोड गरेर जर्मनीको ल्याण्ड नर्थ रेहेनवेस्ट फालिया स्थित वाल्ट्रुप माध्यमिक विद्यालयले आफ्नो वेब साइटमा प्रयोग गरेको पाए । फोटोगाफर डिर्क रेन्क्होफको दावी छ आफूले यात्रा सम्बन्धी त्यो वेब साइटलाई उसका प्रयोगकर्ताहरुले हेर्नसम्म पाउनेगरी अनुमती दिएको हो । जर्मनीको सो विद्यालयले अनुमती बेगर आफ्नो वेब साइटमा प्रयोग गरेर प्रतिलिपि अधिकारको हनन् गरेको भन्ने दावी गरेर रेन्क्होफले ह्याम्वर्ग स्थित एक अदालतमा मुद्दा हालेका थिए । अदालतले रेन्क्होफको उक्त फोटो विद्यालयले आफ्नो वेब पेजबाट हटाउनु पर्ने र ३०० यूरो क्षतिपुर्ति तिर्नुपर्ने आदेश ग¥यो । यो आदेश उपर दुबै पक्षले सङ्घीय अदालतमा पुनरावेदन गरे l तर सङ्घीय अदालतले यो मुद्दालाई यूरोपियन कोर्ट अफ जस्टिसमा पठाइदियो । यूरोपियन कोर्ट अफ जस्टिसले पनि विद्यालयले प्रतिलिपि अधिकार ऐन उल्लङ्घन गरेको ठहर गर्दै विद्यालयले फोटो प्रयोग गर्न प्रतिलिपि अधिकार धनीको स्विकृति लिनुपर्ने थियो भनी फैसला गरेको छ । (समाचार श्रोतः बि.बि.सि. न्यूज, ८ अगस्ट, २०१८)
यसै गरेर विश्व विद्यालय तथा अनुसन्धान केन्द्रहरुमा विद्यार्थी तथा प्रध्यापकहरुले नै अरुको शोधपत्र नक्कल गरेर पेश गर्ने विकृति नेपालमा सामान्य कुरा जस्तै भैसकेको छ । अरु त छाडौं विश्व विद्यालयका उपकुलपतिमाथि नै यस्तो आरोप लाग्यो l तर अनुसन्धान र कारबाही भएको जानकारी पाउन सकिएन । छिमेकी मुलुक भारतमा पनि यस्तो समस्या बढ्दै गएकोले नियन्त्रण गर्न प्रतिलिपि अधिकार कानुन अनुसार हुने कारवाहीको अलावा विश्व विद्यालय अनुदान आयोगले नै यस सम्बन्धी नियमावली बनाएको र यसलाई मानव संसाधन मन्त्रालयले स्विकृति प्रदान गरेको भनी टाइम्स अफ इण्डियाको अनलाइन संस्करणमा यही अगष्ट ३, २०१८ मा समाचार प्रकाशन भएको छ । अरुको रचना वा शोधपत्रको हुबहु नक्कल गरेर पेश गर्ने विद्यार्थी भए दर्ता नै रद्द हुने र प्रध्यापक भए सेवाबाटै अवकाश गरिने सजायको प्रावधान नियमावलीमा छ । भारतीय सरकारको गजेटमा प्रकाशित सूचना अनुसार कुनै विद्यार्थीले १० देखि ४० प्रतिशतसम्म अरुको शोधपत्र सारेर { Plagiarism } पेश गरेको पाइएमा ६ महिनाभित्र शंसोधित शोधपत्र पेश गर्न आदेश दिइने छ । यदि ४० प्रतिशत भन्दा माथि ६० प्रतिशतसम्म नक्कल गरेको रहेछ भने त्यस्तो विद्यार्थीलाई एक बर्षसम्म शोधपत्र पेश गर्न प्रतिबन्ध लगाइने छ । यसभन्दा बढी प्रतिशत नक्कल गरेर कुनै विद्यार्थीले शोधपत्र पेश गरेको रहेछ भने उसलाई विश्वविद्यालयको दर्ता रद्द गरेर निष्काशन नै गरिने छ । यसै गरेर शिक्षक प्राध्यापकहरुले १० दखि ४० प्रतिशतसम्म नक्कल गरेर आफ्नो शोधपत्र तयार पारी पेश गरेको पाइएमा शोधपत्र नै रद्द हुने र ४० प्रतिशत भन्दा माथि ६० प्रतिशतसम्म चोरेर पेश गरेको रहेछ भने २ बर्षसम्म अरु बिद्यार्थीको शोधकार्यको सुपरिवेक्षण गर्न प्रतिबन्ध लगाउने तथा बार्षिक ग्रेड बृद्धि समेत रोक्का हुने छ । ६० प्रतिशत भन्दा बढी नक्कल वा चोरी गरेर शोधपत्र तयार गर्ने शिक्षक प्राध्यापकलाई निलम्वन गरी दोषी ठहरे जागिरबाटै निष्काशन गरिने व्यवस्था यो नियमावलीले गरेको छ । यस्ता शोधपत्र चोरी सम्बन्धी अभियोगहरुको अनुसन्धान गर्ने र सजायको आदेश गर्ने निकायहरुको समेत नियमावलीले व्यवस्था गरेको छ । यो ‘ल्पेजियारिज्म’ विरुद्धको व्यवस्था भारतभरिका ८६७ विश्व विद्यालय र तीसँग आवद्ध कलेजहरुमा लागू हुने छ ।
प्रतिलिपि अधिकार व्यवस्था लेखक, कवि, कलाकार र सर्जकहरुको मान, सम्मान र सजावटको कुरा मात्रै होइन । सिर्जनात्मक कार्यहरु गर्न प्रोत्साहित गर्न राज्यले गरेको पद्दति हो । सिर्जनात्मक कार्यहरु जहाँ मौलाउँछ त्यो समाज र मुलुक सभ्य, सुखी, सुसंस्कृत र विकशित समेत गनिन्छ । जब सिर्जनाहरु धेरै हुन्छन् तब सिर्जनामा आधारित उद्यम तथा व्यवसायहरु पनि फस्टाउँछन् l यी उद्यमहरुबाट राज्यले प्राप्त गर्ने आर्थिक, प्राविधिक र साँस्कृतिक आर्जन पनि तुलनात्मक रुपमा अधिक हुन्छ । त्यसैले सवल प्रतिलिपि अधिकार कानुनको तर्जुमा साथै त्यसको पूर्ण र सही कार्यान्वयन राज्यको प्राथमिकतामा पर्नु पर्दछ । प्रतिलिपि अधिकार व्यवस्थाको प्रवर्धनलाई देश विकास र समृद्धिको माध्यमकै रुपमा अंगिकार गर्नु सही कदम हुने छ । उल्लेखित केही समाचारहरुको टिपोटले प्रतिलिपि अधिकार कार्यान्वयनमा सरोकारवालाहरुलाई मार्गदर्शन र प्रेरणा हुने छ भन्ने विस्वास गर्न सकिन्छ ।
– बिसुकुमार के.सी.
[ लेखक नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका
पूर्व रजिष्ट्रार हुनुहुन्छ । ]