एआईको सहायताले ‘जहाँ तिम्रो छायाँ हुन्छ त्यहीँ मेरो घर’

— गीता अधिकारी

बी क्रिएसन इन्टरनेसनलले ‘जहाँ तिम्रो छायाँ हुन्छ त्यहीँ मेरो घर’ बोलको आधुनिक गीत आफ्नो यु–ट्युब च्यानलबाट साङ्गीतिक बजारमा प्रस्तुत गरेको छ ।

यस गीतका गीतकार हरि मञ्जुश्री हुनुहुन्छ । उहाँले फेसबुकबाट जानकारी दिए अनुसार २०५४ साल असोज २ गते यस गीतको रचना गरिएको हो । त्यस बेला उहाँ बनेपामा आफ्नै घर बनाउने तरखरमा हुनुहुन्थ्यो । त्यसैले गीतको बोल नै ‘जहाँ तिम्रो छाया हुन्छ त्यहीँ मेरो घर’ राख्नुभएको थियो ।

यस गीतका म्युजिसियन, एरेन्जर र रेकर्डिस्ट भुवन तामाङ हुनुहुन्छ । उहाँले एआईको सहायताले यस गीतमा स्वर भर्नुभएको हो । चित्राङ्कनका लागि पनि उहाँले एआईकै सहायता लिनुभएको छ । चित्राङ्कन सुन्दर छ । गायकी पनि सुमधुर छ, कहीँ–कहीँ मात्रै उच्चारण बिग्रेको अनुभूति हुन्छ । उदाहरणका लागि ‘हर्ष’ लाई ‘हर्षा’ र ‘घर’ लाई ‘घर्’ भनिएको छ । अन्य पक्षबाट गीत सुमधुर र श्रवणीय बनेको छ ।

नेपाली भाषाका अधिकांश गीतहरूमा एउटै समस्या देखिएको छ । त्यो हो गीतमा प्रयोग गरिएका शब्दहरूको उच्चारण शुद्ध नहुनु । सङ्गीतकार र गायक–गायिकाले ह्रस्व अक्षरलाई ह्रस्व र दीर्घ अक्षरलाई दीर्घ नै उच्चारण हुने गरी सङ्गीत सिर्जना गर्ने र गाउने हो भने गीतहरू कालजयी बन्नेछन् ।

हालसम्म गीतकार हरि मञ्जुश्रीका योसमेत तीन गीतमा भुवन तामाङको सङ्गीत परेको छ र सबैलाई बी क्रिएसन इन्टरनेसनलले प्रस्तुत गरेको छ । यी गीतहरू सुनिसकेपछि शब्दको उच्चारणतर्फ पनि बी क्रिएसन इन्टरनेसनल र भुवन तामाङको ध्यान जानेछ भन्ने अपेक्षा गर्नु उपयुक्त नै लागेको छ ।