-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध सर्जक सुनिल मास्केको रचना/सङ्गीतमा रहेको दसैं गीत ‘यो दसैंमा रमाईलो गर्ने हो’ को भिडिओ सार्वजनिक भएको छ । विश्व नेपाली, प्राश्ना शाक्य, रुकमान लिम्बू र मोनिका राईको सामूहिक स्वरमा रहेको यस गीतको सङ्गीत संयोजन प्रदिप श्रेष्ठले गरेका हुन् हुन् भने किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको छ । भिडिओमा अनुप मास्के, शिला गजुरेल, गायक-गायिका लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडिओ शुक्रबार सर्जक मास्केकै युट्युब च्यानल S Music (Sunil Maskey Official) बाट डिजिटल बजारमा आएको हो ।
यो दसैं गीतको भिडिओ युवा निर्देशक युवराज वाइबाको निर्देशनमा छायाङ्कन भएको हो । जसमा दीपक गिरीको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ । भिडिओमा दसैं नजिकिँदै गर्दा मनमा छाउने उल्लास, बारीमा फुलेका ढकमक्क सयपत्री, शहर र परदेशबाट गाउँघर फर्कंदै गरेकाहरुको लर्को, लिङ्गेपिङमा मच्चिंदै-रमाउँदै नाच्दै गरेका केटाकेटी र तरुना-तरुनीहरु, अग्रजहरुको हातबाट टिका-आशिर्वाद थापेका दृश्यहरु आदि समेटिएका छन् ।
३ दशक भन्दा अघिदेखि सङ्गीत क्षेत्रमा क्रियाशील रहँदै आएका मास्केका हालसम्म एकल सङ्गीतका १२ एल्बम प्रकाशन भैसकेका छन् भने फुटकर एवं कलेक्शन एल्बमका रुपमा उनका सयौं गीत बजारमा आएका छन् l सुरुमा बाँसुरीवादकको रुपमा यस क्षेत्रमा प्रवेश गरेका लोकप्रिय गोर्खाली सर्जक मास्केले सङ्गीत क्षेत्रबाट भएको आमदानी परोपकारी कार्यमा खर्च गर्दै आएका छन् l













