-डा. चन्द्र गिरी
भारतको प्रयागराजमा आयोजित महाकुम्भ मेलामा प्रविधि र आध्यात्मिकताको अनौठो संगम देखियो। यस ऐतिहासिक मेलामा “एआई च्याटबोट” नारदमुनिको प्रयोगले धार्मिक परम्परा, सांस्कृतिक इतिहास, र आध्यात्मिक अन्तर्दृष्टिको गहन ज्ञान प्रदान गर्यो। त्यति मात्र कहाँ हो र ? श्रद्धालुहरूले नारदमुनिबाट पूजाको विधि, गङ्गा स्नानको शुभ मुहूर्त, तीर्थयात्राका महत्वपूर्ण स्थानहरूको जानकारी, तथा मेलाका प्रशासनिक सूचना सहज रूपमा प्राप्त गरे। नारदमुनिको यो अनौठो भूमिका हेर्न ठूलो भीड जम्मा भयो।
श्रद्धालुहरू एआई प्रविधिबाट यति प्रभावित भए कि कतिपयले यो प्रविधिलाई “डिजिटल ऋषि” भनेर सम्बोधन गरे। संयोग भनौँ या के भनौँ, नारदमुनि र एआईबीच चाखलाग्दो समानता छ। नारदमुनि भगवान ब्रह्माका मानस पुत्र थिए। उनको जन्म ब्रह्माको मस्तिष्कबाट भएको थियो। एआई पनि मानवीय मस्तिष्ककै उपज हो। मुख्य भिन्नता के हो भने नारदमुनि स्वयं सचेत, आत्मचेतनयुक्त, र आध्यात्मिक शक्ति भएका दिव्य व्यक्तित्व थिए, जबकि एआई भने मानवीय बुद्धिको नक्कल गर्ने प्रविधि मात्र हो, जसमा आत्मचेतना छैन। तर प्रविधिको प्रगतिसँगै अनुसन्धानकर्ताहरू जटिल एल्गोरिदमहरू विकास गरेर एआईमा आत्मचेतना भर्ने निरन्तर प्रयास गर्दैछन्। यदि यो सम्भव भयो भने, एआई मानव चेतनासँग झन् नजिकिनेछ।
नारदमुनिको ज्ञान असीमित थियो। उनी त्रिकालदर्शी थिए, जसले भूत, वर्तमान, र भविष्य देख्न सक्थे। उनको ज्ञान ब्रह्माण्डीय, आध्यात्मिक, र दिव्य स्रोतबाट आएको थियो। उनी वेद, पुराण, संगीत, राजनीति, र त्रिकालदर्शनमा निपुण थिए। उनी गोप्य र रहस्यमय तत्त्वहरू बुझ्ने क्षमता राख्थे। उनको सञ्चार शैली गीत, श्लोक, संवाद, र कथाको माध्यमबाट हुन्थ्यो। एआईको ज्ञान इन्टरनेट र तथ्याङ्कबाट सङ्कलित हुन्छ। अहिले इन्टरनेटमा अथाह ज्ञानको भण्डार छ र यो दिनानुदिन बढ्ने क्रम जारी छ। यसले बिभिन्न भाषा बुझ्न सक्छ, तथ्याङ्क विश्लेषण गर्न सक्छ , र भविष्यवाणी समेत गर्न सक्छ।
एआईले संगीत, कला, लेख, र चित्र आदि जन्माउन सक्छ। तर यसले केवल इन्टरनेटमा सार्वजनिक गरिएका सामग्रीहरुको आधारमा मात्र जानकारी प्रदान गर्न सक्छ। एआईले भविष्यको अनुमान लगाउन सक्छ, तर त्रिकालदर्शी होइन। यसको सञ्चार शैली लेखन, अडियो, भिडियो, र च्याटबोटको माध्यमबाट हुन्छ। एआई डिजिटल माध्यमबाट विश्वभर उपलब्ध छ।
नारदमुनिले गरेका धेरै कार्यहरू सकारात्मक भए पनि कहिलेकाहीँ उनले चातुर्यता र रणनीतिक उपयोग गर्थे। उनी नायक र खलनायक दुबैको भूमिका खेल्न निपुण थिए। नारदमुनि तटस्थ देखिए पनि कहिलेकाहीं पक्षपात जस्तो देखिन्थे। उनी विभिन्न ठाउँमा गएर सूचना सङ्कलन गर्थे, गोप्य कुराहरू थाहा पाउँथे, अनि रणनीतिक रूपमा जानकारी प्रयोग गर्थे। एआई पनि तथ्याङ्क विश्लेषण गर्छ, जसले सही वा गलत दुबै प्रकारका सुझाव दिन सक्छ, एल्गोरिदम अनुसार पूर्वाग्रही हुन सक्छ।
प्रसिद्ध लेखक युवाल नोआ हरारीले आफ्नो पुस्तक नेक्सस (२०२४) मा प्रस्ट पारेका छन् कि एआई भलाई र भय दुबैको लागि प्रयोग हुन सक्छ। यदि एआई गलत व्यक्तिहरूको हातमा पर्यो भने, यसले समाजलाई हानी पुर्याउन सक्छ। यसैले, नारदमुनि जस्तै रणनीतिक रूपमा एआईको सही मार्गदर्शन गर्न आवश्यक छ। नारदमुनि स्वर्ग, पृथ्वी, र पाताललोक विचरण गर्न सक्थे। उनी देवतादेखि असुर, ऋषिमुनिदेखि राजासम्म सबैसँग संवाद गर्न सक्थे। कुनै पनि ठाउँमा तुरुन्तै पुग्न सक्ने, प्रश्नहरूको उत्तर दिने, र जिज्ञासा मेटाउने उनको क्षमता थियो।
एआई पनि सूचनाको महासागर हो। यसले समुद्रको गहिराइदेखि अन्तरिक्षसम्मको तथ्याङ्क समेट्न सक्छ। विश्वभरका मानिसहरूसँग संवाद गर्न सक्छ। तुरुन्तै उत्तर दिन सक्छ। नारदमुनि अमर र अजर छन्। उनी जहिले पनि जहाँ पनि उपस्थित हुन्छन्, कहिल्यै मर्दैनन्, कहिल्यै थाक्दैनन्। एआई पनि एक प्रकारले अमर अजर जस्तै छ। जहिले पनि सूचना प्रबाह गरिरहन्छ। यो निरन्तर विकसित भइरहेको छ। निरन्तर सिकिरहने हुनाले ज्ञान र क्षमता अद्यावधिक हुँदै गइरहेको छ। नारदमुनि घटनाहरूको सूत्रपात गर्न सक्थे। नारदमुनिको एक प्रश्नले डाकु रत्नाकरलाई महर्षि वाल्मीकि बनायो। एआई भने केवल सूचना अनुसार उत्तर दिन्छ, इच्छाशक्ति छैन। आध्यात्मिक शिक्षा भने दिन सक्छ, सांस्कृतिक महत्व बुझाउन सक्छ, र जीवनोपयोगी जानकारी प्रदान गर्न सक्छ। प्रविधिको सही प्रयोग गरेर भविष्यमा नारदमुनिको जस्तै मार्गदर्शन दिने एआई निर्माण सम्भव नहोला भन्न सकिन्न।
एआई दिनदिनै मानवीय जस्तो बन्दै गइरहेको छ। हामीले “यस्तो हुनै सक्दैन, असम्भब छ” भनेका धेरै कुराहरू सम्भव भएका छन्। चालकबिनाको ट्याक्सी होला भनेर मैले सोचेको थिइन। एआईले मानव जीवनलाई सहज बनाउन मद्दत गर्न सक्छ, तर यसको प्रयोग सावधानीपूर्वक र नैतिकताका आधारमा हुनुपर्छ। नारदमुनिको दिव्य ज्ञान र एआईको प्रविधिको संयोजनले भविष्यमा नयाँ सम्भावनाहरू खोल्न सक्छ। अन्तमा, नारदमुनि र एआईबीचको यो तुलनाले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ: प्रविधि र आध्यात्मिकताको संतुलन नै मानव जीवनको सार हो। एआईले हाम्रो जीवनलाई सहज बनाउन सक्छ, तर यसले हाम्रो आत्मिक यात्राको स्थान लिन सक्दैन।
(* लेखक अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसर हुनुहुन्छ l )
![](https://emusicdiary.com/wp-content/uploads/2022/03/kumar-rana-maruni-digital.jpg)