– रोशन अधिकारी
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा आध्यात्मिक लेखक केदारनाथ तिमल्सिनाले लेख्नुभएको जन्मदिनको शुभकामना गान शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ । यस गानमा उहाँले पनि स्वर दिनुभएको छ र गानलाई उहाँले नै सार्वजनिक गर्नुभएको हो । उहाँ ८१ वर्षका हुनुहुन्छ ।
जन्मदिनमा बत्ती निभाउने, केक काट्ने, जुठो खुवाउने र अङ्ग्रेजी भाषाका केही शब्द बोल्दै थपडी बजाउने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा हाम्रो मौलिक संस्कृति पनि कायम रहोस् र जन्मदिन मनाउने परिपाटीलाई आधुनिक स्वरूप पनि दिन सकियोस् भन्ने उद्देश्यले जन्मदिनको शुभकामना गान तयार पारिएको हो । अरूको सांस्कृतिक र भाषिक दासता अस्वीकार गर्ने र आफ्नै संस्कृति र भाषाको जगेर्ना गर्न खोज्ने नेपालीहरूले आफ्नो, आफ्ना परिवारको र आफन्तको जन्मदिनमा उक्त गानको उपयोग गर्नुहुनेछ भन्ने आशा गरिएको छ । गानमा हाम्रो …… को र हाम्री …… को भनिएको छ । जन्मोत्सवमा योे गान गाउँदा जुन व्यक्तिको जन्मोत्सव हो, त्यही व्यक्तिको नाउँ या नाता भन्नुपर्ने हुन्छ । यस गानले ‘ह्याप्पी बर्थडे टु यु’ भन्नुको सट्टा ‘दीर्घ जीवन रहोस् सुख–शान्ति सहितको’ भन्नु वेश हुन्छ भन्ने सन्देश दिएको छ ।
यस गानका सङ्गीतकार हरि मञ्जुश्री, सुपरिवेक्षक मच्छेश्वर सापकोटा र बाद्यसंयोजक बालकृष्ण सेवाचार्य हुनुहुन्छ । यो गान इ. रोशन मञ्जुश्री अधिकारी, सरस्वती सापकोटा, गीता अधिकारी, केदारनाथ तिमल्सिना र रिभब सेवाचार्यले गाउनुभएको हो । यो गान अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
