पं.ज्यो.डा. रुद्रनाथ अधिकारीका तीन साङ्गीतिक कृति एकैसाथ सार्वजनिक

गीतकार पं.ज्यो.डा. रुद्रनाथ अधिकारीका तीन साङ्गीतिक कृति एकैसाथ सार्वजनिक गरिएको छ । सोमबार गीतकार सङ्घ नेपालको आयोजना एवं पूर्व अर्थमन्त्री तथा कवि/गीतकार एस्पी कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रममा डा. अधिकारीका तीनवटा गीत ‘बुझ मायालु, यसपालीको तीजमा र यस्तै रहेछ भाग्य’ को श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको हो ।

गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गीतकार सङ्घका सल्लाहकार एवं पूर्व अध्यक्ष चूडामणि देवकोटा, अमल फाउन्डेसन बंगलादेशकी निर्देशक इस्रात करिम, नारायणगोपाल सङ्गीत कोष एवं तारादेवी स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक केसी, सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य मगर, सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव बद्री पाण्डे, लोकप्रिय गीतकार आनन्द अधिकारी, विमोचित म्यूजिक भिडिओका निर्देशक कृष्णदेव रुपाखेती लगायतको उपस्थितिमा उक्त श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको थियो ।

भिडिओका निर्देशक कृष्णदेव रुपाखेतीले गीतकार पं.ज्यो.डा. रुद्रनाथ अधिकारीको बारेमा प्रष्ट पारेका थिए । रुपाखेतीले ज्योतिष एवं कर्मकाण्डीय कर्ममा प्रख्यात ज्योतिष डा.रुद्रनाथ अधिकारीको लेखन शैलीमा पनि अब्बल क्षमता भएको बताउँदै वेदवेदाङ्गदेखि साहित्य क्षेत्रमा पनि लोकप्रियता मिलोस् भन्ने शुभकामना दिएका थिए । त्यस्तै गीतकार डा.अधिकारीका गीतमा समीक्षा गर्दै लोकप्रिय गीतकार आनन्द अधिकारीले गीति लेखनमा पनि ज्योतिशास्त्रलाई समावेश गरिएको हुँदा नयाँ गीतकार जस्तो नदेखिएको बताए । उनले तिज, हाक्पारे, बालन, धान नाच, टप्पा जस्ता संस्कृतिभित्र राष्ट्र रहेको हुँदा जुन देशमा हाम्रो मौलिक कला संस्कृति प्रस्तुत हुन्छ त्यहाँ राष्ट्रको प्रतिनिधित्व हुन्छ भन्दै गीतकार डा.रुद्रनाथ अधिकारीका गीतहरुमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा गीतकार सङ्घ नेपालका सल्लाहकार एवं पूर्व अध्यक्ष चूडामणि देवकोटा, अमल फाउन्डेसन बंगलादेशकी निर्देशक इस्रात करिम, नारायणगोपाल सङ्गीत कोष एवं तारादेवी स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक केसीले गीतकार अधिकारीले गीत-सङ्गीत क्षेत्रमा प्रवेश गरेर अमरताको बाटो रोजेको भन्दै तीनवटा गीतले बजारमा चर्चा परिचर्चा पाउने विश्वासका साथ शुभकामना दिएका थिए ।

त्यस्तै गीतकार पं. ज्यो. डा. अधिकारीले उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै आफूले गरेको व्यक्तिको भविष्यवाणीसँगै देशको भविष्यवाणी पनि मिलिरहेको बताए । उनले ज्योतिष शास्त्र वैदिक परम्परासँगै सङ्गीतको पनि जन्म भएको बताउँदै भगवान शिवबाट नै सङ्गीतको पहिलो प्रादुर्भाव भएको उल्लेख गरे । भगवानबाट सुरु भएको ॐ शब्दबाट सङ्गीतको सुरुआत भएको उल्लेख गर्दै उनले ज्योतिष शास्त्रलाई गीतमार्फत प्रस्तुत गर्न जमर्को गरेको बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा प्रतिष्ठित गीतकार, कवि एस्पी कोइरालाले पं.ज्यो.डा. रुद्रनाथ अधिकारीको गीति लेखन पनि ज्योतिष विज्ञानमा प्राप्त गरेको लोकप्रियता जस्तै बनोस् भने शुभकामना दिएका थिए । उनले डा.अधिकारीले गीति क्षेत्रमा रुचि राखेर लगानी गर्नुभएकोमा खुशी प्रकट गरेका थिए । ।

कार्यक्रमलाई समापन गर्दै गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले पं.ज्यो.डा. रुद्रनाथ अधिकारीको सिर्जनालाई सबैका सामु ल्याउने जिम्मा पाएकोमा आभार प्रकट गरेका थिए । उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष थापाले गीतकार सङ्घ नेपाल सदैव गीतकारहरुको हकअधिकारका लागि लड्दै आएको र गीतकारहरुको श्रीवृद्धिमा लाग्ने बताए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन पण्डितले गरेका थिए भने गीतकार सङ्घ नेपालकी कार्यसमिति सदस्य देवी पराजुलीले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गरेकी थिइन् l