जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई मिहिनेत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै मध्येका एक उदाहरण हुनुहुन्छ महेश बुढाथोकी । उहाँले व्यवसायसँगै समाजसेवामा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । त्रिवेणी गाउँपालिका-२ काँरागिठी सल्यानका महेश पेशाले मेडिकल व्यवसायी हुनुहुन्छ । मेडिकल व्यवसाय मानिसको स्वाथ्यसँग जोडिएको व्यवसाय हो । मानिसको जीवन रक्षा गर्नु पनि आफैंमा पुण्यको काम हो । यही पेशमा विगत ११ वर्षदेखि आफूलाई संलग्न गराउँदै आउनुभएका महेशको अर्को परिचय भनेको समाजसेवा हो ।
शिक्षा, स्वास्थ्य र बालबालिकाका अधिकारको क्षेत्रमा सक्दो योगदान पुर्याउँदै आउनुभएका महेश सामाजिक कार्य हरेक मानिसको कर्तव्य ठान्नुहुन्छ । असहाय वा कुनै पनि किसिमले आर्थिक रुपमा कमजोर भएकाहरुका लागि उहाँको सद्भाव र सहयोग रहने गर्दछ । हरेक मानिसले आफ्नो जीवनमा खुशी चाहन्छ । जीवन सहज होस् भन्ने चाहन्छ । तर, अरूको खुशीका लागि केही गर्नुपर्छ भन्ने व्यक्ति हाम्रो समाजमा कमै पाइन्छ । महेश अरूका खुशीका लागि लागी पर्नुभएको छ ।
देशका विभिन्न ठाउँको यात्रा साथै विदेशको यात्रामा रमाउन चाहने उहाँले विभिन्न कार्यक्रममा केही देशको यात्रा पनि गर्नुभएको छ । आफ्नो काममा रमाउँदै समाजसेवामा पनि त्यत्तिकै सक्रिय रहनुभएका महेश कतिका प्रेरणाका स्रोत हुनुहुन्छ त कतिका लागि आड अनि भरोसा । आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको जर्गेना र उत्थानका लागि सबैले आ-आफ्नो स्थानबाट पहल गर्नुपर्ने मन्याता राख्नुहुने उहाँ नेपाली चलचित्रमा हाम्रो मौलिक कला संस्कृति समावेश गर्नुपर्ने बताउनुहुन्छ । हामीले राम्रो चलचित्र बनाउने क्रममा अरूको नक्कल होइन हाम्रा मौलिक कला संस्कृतिलाई उजागर गर्नुपर्ने धारणा राख्नुहुन्छ ।