कलाकार सङ्घले स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने, सदस्यहरुलाई अध्यावधिकको लागि आव्हान


नेपाल चलचित्र कलाकार सङ्घले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरि ३५ औं स्थापना दिवसका अवसरमा गरिने कार्यक्रमबारे सार्वजनिक गर्दै आफ्ना सदस्यहरुलाई अभिलेख अध्यावधिकका लागि आह्वान गरेको छ l सङ्घको मिति २०८० भदौ २ गते बसेको बैठकले ३५ औं स्थापना दिवसको अवसरमा गरिने कार्यक्रम र सदस्यहरुको अभिलेख अध्यावधिक गर्ने निर्णय गरेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ l जस अनुसार कलाकारहरुको आवेदन फारमसँग संलग्न गर्नुपर्ने कागजपत्रमा करारपत्र वा अनुहार र चलचित्रको नाम देखिने गरि लिएको स्क्रिन शर्ट संलग्न गर्नुपर्ने छ l  

सङ्घमा रहेको व्यक्तिगत फाइलमा कतिपय सदस्य कलाकारहरुको नागरिकताको प्रतिलिपि, फोटो आदि समेत नभएका कारण अभिलेख तयार पार्ने काममा अस्पष्टता देखिन आएकोले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनका लागि उल्लेखित तथ्यहरु सहित सङ्घमा कागजपत्र उपलब्ध गराउनका लागि सम्पूर्ण सदस्यहरुलाई आह्वान गरिएको कुरा सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी गराएका छन् l अध्यक्ष निरौलाका अनुसार ईमेल मार्फत वा स्वयम् उपस्थित भई ६ महिनाभित्र कागजपत्र उपलब्ध गराउन आग्रह गरिएको छ l तोकिएको अवधिमा अध्यावधिक नगरे व्यक्तिगत फाइलमा प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रकृया अनुसार हुने कुरा पनि सङ्घले जानकारी गराएको छ ।

यस्तै सङ्घले आफ्नो ३५ औं स्थापना दिवसका अवसरमा आगामी भदौ २३ गते स्काई वैङ्क्वेट बग्गी खानामा ‘नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । स्थापना दिवसको उपलक्ष्यमा भदौ २४ गते बिहान मोटिभेसन कक्षा र योगा कार्यक्रम गर्ने र सोका लागि प्रशिक्षकहरुलाई अनुरोध गर्ने निर्णय भएको कुरा समेत सङ्घका अध्यक्ष निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।