बजेटप्रति चलचित्र कलाकार सङ्घको भर्त्सना सहित गम्भीर ध्यानाकर्षण


नेपाल चलचित्र कलाकार सङ्घले आज एक विज्ञप्ति प्रकाशित गरी २०८०/०८१ को बजेट सम्बन्धमा सङ्घको ध्यानाकर्षण भएको जनाएको छ l सङ्घका अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित सो ध्यानाकर्षण विज्ञप्तिमा भनिएको छ- ‘नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा गरी विदेशी चलचित्रलाई पक्ष पोषण गरेकोमा नेपाल चलचित्र कलाकार सङ्घको गम्भीर ध्यानाकार्षण भएको छ ।

नेपालमा विदेशी चलचित्र निर्बाध प्रदर्शन भईरहेको तथ्य कसैबाट लुकेको छैन । सरकारको नीति कमजोर हुँदा विदेशी चलचित्रको प्रदर्शनले प्राथमिकता पाएर नेपाली चलचित्र क्षेत्र सोझै मारमा परिरहेको पीडा हामी दशकौँदेखि भोग्दै आएका छौँ । यो पीडालाई न्युनिकरण गर्न हामी बारम्बार आवाज उठाउँदै आएका छौँ । सरकारलाई पटक-पटक दबाब पनि दिइरहेको छौँ । हामी हाम्रो सरकारबाट नेपाली चलचित्रको विस्तार तथा प्रवर्धन चाहन्छौं । नेपाली चलचित्र उद्योगसँग कलाकार, लगानीकर्ता, निर्देशक मात्र हैन हजारौँ श्रमिकहरुको जीविका प्रत्यक्ष र परोक्ष रुपमा जोडिएको छ । यो बजेटमा नेपाली चलचित्रको प्रवर्धन र विस्तारलाई उपेक्षा गरिँदा हामी अत्यन्तै दुःखी छौँ । यस बिषयमा हाम्रो जोडदार भर्त्सना सहित गम्भीर ध्यानाकार्षण भएको छ । सरकारले अविलम्ब नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न हामी जोडदार माग गर्दछौँ ।’