घिरौंले र बैकुण्ठले ल्याए सामाजिक कथामा ‘भाविको लेखान्त’, जेठ १४ बाट युट्युबमा


लोकप्रिय टेलिसिरियल ‘मेरी बास्सै’मा घिरौंले र बैकुण्ठ नामले चिनिएका लेखान्त भुसाल र रमेश बुढामगरले नयाँ सिरियल ल्याउने भएका छन् । मेरी बास्सैबाट छुट्टिएपछि उनीहरुले नयाँ टिम बनाएर सामाजिक कथामा आधारित ‘भाविको लेखान्त’ नामक सिरिज निर्माण गरेका हुन् ।

बिहिबार काठमाडौंमा आयोजित प्रोमो सार्वजनिक कार्यक्रममा आगामी जेठ १४ गते आइतवार बेलुका ५:४५ बाट ‘लेखान्त अफिसियल’ युट्युब च्यानल मार्फत सो सिरियल प्रशारण हुने कुरा जानकारी गराइएको छ । यस सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् । धादिङमा खिचिएको यस सिरिजको ८ भाग तयार गरिएको र प्रसारणसँगै बाँकी भागको छायाङ्कन पनि गर्दै जाने कुरा जानकारी गराईएको छ ।

SUBSCRIBE 👉

समारोहमा आफ्ना भनाईहरु राख्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चलचित्र कलाकार/लेखक/ निर्देशक नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले ‘भाविको लेखान्त’ टिमलाई सफलताको शुभकामना दिए । उनले पछिल्लो समय सिरिजबाट पनि दर्शकले निकै मनोरन्जन लिन थालेको र चलचित्रमा अभिनय गर्ने कलाकारहरु पनि सिरिजमा व्यस्त भएको देख्दा खुशी लागेको बताए ।

सिरिज निर्माणमा मुख्य सहयोगीको भूमिकामा रहेको हाउजर पेनका बागमती अञ्चल वितरक भुवन के पोखरेलले लोकप्रिय कलाकारहरु रहेको र सामाजिक कथामा निर्माण भएको ‘भाविको लेखान्त’ सिरिजमा जोडिन पाउँदा आफूलाई खुशी लागेको बताए । कार्यक्रममा कलाकार तथा निर्देशक दमन रुपाखेती, बेगम नेपाली, इन्द्र दोङ लामा, सुनिता गौतम, सुमन न्यौपाने, दीपक आचार्य, गोविन्द्र कोईराला, पत्रकार डब्बु क्षेत्री लगायतले सिरिजको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

चलचित्र पत्रकार गोपिकृष्ण चापागाईँले शहजिकरण गरेको सो कार्यक्रममा रेडियो नेपालको नाटक शाखाका पूर्व निर्देशक आर. जे. सिंह, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, पत्रकार तुलसी गिरी लगायतको  उपस्थिति रहेको थियो । सिरिजका निर्देशक सुरेन्द्र थापाले पछिल्लो समय भइरहेको सिरिजहरुको भीडमा आफूहरु पृथक भएर अघि बढ्ने र दर्शकको माया पाउने विश्वास राखे । त्यस्तै, निर्माता लेखान्त भुसालले आफूलाई ‘मेरी बास्सै’ सिरियलमा जस्तै दर्शकले माया दिनेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि दमन रुपाखेतीले मिडिया हवबाट सन्चालित ‘मेरि बास्सै’का धेरै कार्यक्रमा बाहिरिएर आ-आफ्नो तरिकाले सिरिज निर्माण गरिरहेको र सफल भइरहेको बताए । उनले मिडिया हवले कलाकारहरुसँग सम्बन्ध राख्न नजानेको आरोप लगाए । उनले आफू पनि पछिल्लो समय दुईपटक पुनः जोडिएको तर निरन्तर काम गर्ने अवस्था नबनेको बताए ।

SUBSCRIBE 👉