लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को सम्पादन सुरु


लिम्बू संस्कृतिमा आधारित चलचित्र लोजिमा को भिजन नेपाल एण्ड फिल्म्स प्रा.लि. अनामनगरमा सम्पादन कार्य सुरु भएको छ । चलचित्रको बिशेष प्राविधिक सहयोगीमा ड्रिम्स ए, मेरो हजुर, साइत लगायत दर्जनौ सुपरहिट चलचित्रका मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहेका छन् l लोजिमामा सर्वोत्कृष्ट राष्ट्रिय साँस्कृतिक अवार्ड पाउन सफल चलचित्र कुसुमको निर्देशन गरेर चर्चामा आएका सागर सुब्बाको कथा/निर्देशन रहेको छ । लिम्बू संस्कृति तथा जीवन्त प्रेम कथामा आधारित चेतना र सन्देशमूलक यस चलचित्रको पटकथा/सम्बाद सागर केरुङ्ले लेखेका हुन् ।

सुन्दरता सँगसँगै अभिनय र नृत्यमा पनि अब्बल नायिका बिमला लिम्बूले उदियमान नायिकाको रुपमा सबैको मन जित्ने अपेक्षा गरिएको छ l  बिमला लिम्बूले चलचित्र लोजिमामा शीर्ष भूमिकामा कथाको माग अनुसार जीवन्त अभिनय गरेकी छिन् l मिस टिन इन्डिया हुँदै मिस टिन युनिभर्सल टप सेभेन सहारा हाङमा लिम्बूले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन् l चलचित्रमा सहारा हाङमाको जोडीको रुपमा नायक रुद्र पाहिमले अभिनय गरेका छन् l गायकको रुपमा आफ्नो परिचय बनाईसकेका, नृत्य र विभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनयले चर्चित आशाहाङ आङबो पनि यस चलचित्रबाट नायकको रुपमा अगाडि आएका छन् l

पाथीभरा च्यानलको ब्यानरमा निर्मित यस चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहायक निर्देशक दिपक अधिकारी, छायाकार रविन्द्र बराल, शृङ्गार नरेश खरेल र  म्युजिक एरेज्जर अशोक लोहरुङ राई रहेका छन् भने गीतमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रमा पार्श्व सङ्गीत अशोक लोहरुङ राईले दिनेछन् l

निर्माण प्राविधिक टिम र कथाको माग अनुसार कलाकार समेत राम्रो भएकोले निर्देशक सुब्बा समेत लोजिमा उत्कृष्ट बन्नेमा विश्वस्त छन् । सम्पादन लगायत चलचित्रको सम्पूर्ण प्राविधिक कामलाई हालको प्रविधि अनुसार गुणस्तरीय रुपमा सम्पन गरि छिट्टै प्रदर्शन गरिने कुरा निर्देशक सागर सुब्बाले जानकारी गराएका छन् l