लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को छायाङ्कन सम्पन्न


लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को छायाङ्कन सम्पन्न भएको छ । चलचित्रको छायाङ्कन गत कात्तिक ३ गतेबाट सुरु भएको थियो । सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ, जोरथाङ लगायत सिक्किमका विभिन्न रमणीय एवम् पर्यटकीय स्थलहरुमा छायाङ्कन भएको यो चलचित्रमा सागर सुब्बाको कथा/निर्देशन रहेको छ । लिम्बू संस्कृति तथा जीवन्त प्रेम कथामा आधारित चेतना एवं सन्देशमूलक कथावस्तु बोकेको यो चलचित्रको पटकथा/सम्बाद सागर केरुङ्ले लेखेका हुन् ।

सुन्दरता सँगसँगै अभिनय र नृत्यमा पनि अब्बल नायिका बिमला लिम्बूले उदियमान नायिकाको रुपमा सबैको मन जित्ने विश्वास गरिएको छ l उनले चलचित्रमा ‘लोजिमा’ अर्थात् शीर्ष भूमिकामा कथाको माग अनुसार जीवन्त अभिनय गरेको कुरा निर्देशक सागर सुब्बाले जानकारी गराए l

मिस टिन इन्डिया हुँदै मिस टिन युनिभर्सल टप सेभेनसम्मको उपाधि जितेकी सहारा हाङमा लिम्बूले पनि लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन् l चलचित्रमा सहारा हाङमाको जोडीको रुपमा नायक रुद्र पाहिमले अभिनय गरेका छन् l

गायकको रुपमा आफ्नो परिचय बनाईसकेका, नृत्य र विभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनयले चर्चित आशाहाङ आङ्बो पनि यस चलचित्रबाट नायकको रुपमा अगाडि आउने छन् l

पाथीभरा च्यानलको ब्यानरमा निर्मित यस चलचित्रमा निर्माता आशाहाङ आङ्बो र  कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशक दिपक अधिकारी, छायाकार रविन्द्र बराल र शृङ्गार आर्टिष्ट नरेश खरेलको टिमले निकै मेहेनत गरेको छ l अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रका गीतमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्र लोजिमामा आबद्ध सबै कलाकार/प्राविधिकहरुले अति नै मेहेनतको साथ काम गरेको र स्थानीयको समेत विशेष सहयोग रहेबाट आङ्बो उत्साहित छन् । निर्माण प्राविधिक टिम कथाको माग अनुसार कलाकार समेत राम्रो भएकोले निर्देशक सुब्बा समेत लोजिमा उत्कृष्ट बन्नेमा विश्वस्त  छन् l

चाँडै सम्पादनको तयारीमा रहेको यस चलचित्रमा बिमला खजुम, आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साराहाङमा पन्धाक, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू, लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रकी नायिका बिमला लिम्बू भन्छिन्- ‘चलचित्र लोजिमामा धेरै मेहेनतका साथ केही नयाँ क्रियसनको साथ काम गर्न प्रयास गरेको छौं l आशा छ, दर्शकहरुले मन पराउनु हुनेछ ।’