नातावादको राजनीति

-डा. डी. आर. उपाध्याय खनाल

लामो समयदेखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसेपछि देश बन्न सक्दैन । राजनीति भनेको यस्तो पवित्र चिज हो, जहाँ निस्वार्थ रुपमा जनसेवा गरिन्छ । तर नेपालको राजनीतिमा भने त्यस्तो देखिएन । नेपालको राजनीतिमा समाजसेवाको नाममा ब्यापार भएको छ । नेताहरु राजनीतिको नाममा सबै कुरामा सम्पन्न भएका छन् । जनताको बलमा यति ठूला ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यहीं छन् ।

राजनीतिक दल र तिनका नेताहरुले राजनीतिक नियुक्ति, चुनावका लागी टिकट आदी इत्यादीमा सबैभन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन् । परिवर्तनका लागि लडेका, पार्टीको लागि योगदान दिएका ती नेता कार्यकर्ताहरु ओझेल परेको जस्तो देखिन्छ । जोसंग पैसा छ त्यो नै राजनीतिमा हावी भएको छ । लामो समयदेखि यस्तो प्रवृत्ति देखिन्छ । सत्ता राजनीतिमा राम्रा मान्छेलाई आउन दिइएको छैन । जसले गर्दा देश पछाडि परिरहेको छ ।

निकै लामो समयदेखि नै देशका जनताले दु:ख पाइरहेका छन् । जनताहरु अभाव र महंगी झेलिरहेका छन् । राजनीतिलाई सेवा भनिन्छ । तर, जब कुनै राजनीतिकर्मी सार्वजनिक लाभको पदमा पुग्छ, ऊ जनताको सेवाभन्दा कमाउनतिर लाग्छ । त्यसो भएर पनि देश बिग्रिएको हो । जनताको सेवा भन्दा ब्यक्तिगत स्वार्थमा नेताहरु चुर्लुम्म डुबेपछि कसको के लाग्छ ? सबैभन्दा पहिला नेताहरु आफू बन्छन् त्यसपछि परिवारका सदस्यहरुलाई बनाउँछन् र त्यसपछि नातागोता, आफन्त र आसेपासे बनाउँछन् । यो धेरै पहिलेदेखिको रोग हो ।

आज सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि नातावादमा लागेका छन् । यसरी देश बनाउन सकिंदैन । जनतामा असन्तुष्टि बढेर जान्छ । त्यसो भयो भने समस्या आउँछ । राजनीतिमा निष्ठा, इमान्दारीता र सिद्धान्त चाहिन्छ । त्यो पनि हराउँदै गएको छ । तर, आजको राजनीति यसरी बिग्रिएको छ, पैसा बिना उम्मेदवार बन्न डर लाग्छ । राजनीतिमा बेइमानी र  धोकाधडी हावी छ l  विचार र कुनै सिद्धान्त नभएकाहरुले जनता अल्मलाईरहेका छन् । देशले दुःख पाएको यस्तै राजनीतिका कारण हो । लोकतान्त्रिक प्रणालीमा पनि नातावादको राजनीति हावी हुनु भनेको लाजमर्दो कुरा हो ।

राजनीतिमा नातावाद, परिवारवादको बिरोध गर्नु पर्छ । लोकतन्त्रका लागि हजारौं नेपालीले प्राणको उत्सर्ग गरे । सहिद, घाइते, अपाङ्ग र बेपत्ता पनि बने । के उनीहरुले प्राणको उत्सर्ग गरेको नेताहरु र उनका परिवार बनाउन हो ? मलाई प्रश्न गर्न मन लाग्यो । उनीहरुले नेता र उनका परिवार मात्र बनाउनका लागि बलिदान र सङ्घर्ष गरेका थिएनन् । देशको भाग्य र भविश्य बनाउनका लागि बलिदान र सङ्घर्ष गरेका थिए । नेताहरुले यो कुरा बुझेको खै ?