गीत प्रमुख विधा कि उपविधा ?

-प्रकाश सुवेदी (कवि/गीतकार)

मलाई लाग्छ संसारमा कुनैपनि साहित्यिक विधाको जन्म नहुँदै गीति विधाको जन्म भएको हुनुपर्छ । चाहे सानो बच्चालाई ‘को खाई बाबू को खाई …खायो बाबू हाम्म’ भन्दै खाना खुवाउँदा होस् चाहे ‘चेई चेई काले ल होई, हाम्रा मकै नखा होई, बनपालेका खा होई’ भन्दै बाँदर धपाउँदा होस् अथवा ‘ह..ह..माले ह.. ह.. ह ..तारे ह.. ह.. ‘ भन्दै हलो जोत्दा होस् l मान्छे मात्र त के समग्र प्राणीजगतले नै गीत सङ्गीत सुनेर आनन्द लिएको हुन्छ । सर्प जस्तो विषालु प्राणीलाई सपेराले गीत सङ्गीत सुनाएरै आफ्नो बशमा पारेको हुन्छ । चाहे द्वापर युगका बाली, सुग्रिव, रावण, दशरथ जस्ता राजा महाराजा हुन् चाहे अहिलेका मोदी, सि जिङ पिङ् , प्रचण्ड, ओली र शेरबहादुर जस्ता शासकहरु जो पनि गीत सङ्गीत सुन्दा आनन्द महसुस गर्थे, गर्दछन् र गरिरहन्छन् ।

कुनैपनि व्यक्तिले कविता भन्ने शब्द सम्म नसुन्दा गीत सुनेर आनन्द लिइसकेको हुन्छ अनि त्यही गीति विधालाई हामी कविताको उपविधा किन मान्ने ? कथा निवन्ध, उपन्यास र कविता जस्तै के गीत छुट्टै प्रमुख विधा हुन सक्दैन ? सामान्यतया छन्दवद्ध होस् अथवा गध कविता, एउटा राम्रो कविता सङ्ग्रह भन्दा एउटा मात्र सङ्गीतवद्ध गरिएको राम्रो गीतको प्रभाव समाजमा धेरै पर्दछ । एउटा कवितासङ्ग्रह मुश्किलले २/४ हजार पाठकहरुले पढ्दा एउटा गीत २/४ लाख व्यक्तिहरुले श्रवण गरिसकेका हुन्छन् । तर त्यही गीति विधालाई हाम्रो साहित्य जगतमा उपविधाको रूपमा लिइन्छ । जुन विधा प्राणी जगतको जन्म सँगसँगै जीवनको एउटा अभिन्न पाटोको रूपमा जन्म भयो त्यो कसरी धेरै पछि जन्मिएको विधाको पनि उपविधा मान्ने ?

पहिला जन्मिएकै कारण सशक्त विधा हो भन्ने तात्पर्य किमार्थ हैन । साहित्यका सबै विधालाई एकातिर र अर्कोतिर गीति विधालाई मात्र राख्यो भने पनि सशक्तताको तौल गीति विधाको बढि हुन्छ । ५०० प्रति कविता सङ्ग्रहका पुस्तक छापेर ‘लौ न मेरो पुस्तक पढिदिनुहोस्’ भनेर ५ सय प्रति नै नि:शुल्क बाँड्दै हिँड्ने कविलाई साहित्यकारको दर्जामा राख्ने प्राज्ञिक क्षेत्रले एउटा राम्रो गीतकारलाई किन राम्रो साहित्यकार मान्न सक्दैन ?

चाहे छन्दवद्ध होस् या मुक्त लयमा लेखिएको कविता कहिल्यै पनि गीत जति प्रभावशाली बन्न सक्दैन । अनि त्यही विधालाई कविताको उपविधा मान्ने ? के गीतलाई छुट्टै प्रमुख विधा मान्न सकिँदैन ? कनिकुथी न भाव न कुनै बिम्ब न कुनै लेखनशिल्प कथा, निवन्ध र समाचारलाई भाँचेरै भएपनि एउटा राम्रो शीर्षक दिएर लेग्रो तानी तानी वाचन गर्यो या प्रकाशन गर्यो भने त्यसलाई विज्ञ भनाउँदाहरुको हेर्ने नजर उच्च हुने तर राम्रा राम्रा गीतहरु राखेर गीति सङ्ग्रहको रूपमा प्रकाशन गरेर बजारमा ल्याउँदा त्यसलाई साहित्य या पुस्तक नै हैन कि जस्तो तरिकाले हेर्ने परिपाटी हाम्रो नेपाली साहित्य जगतमा रहेको पाइन्छ । गर्व ठान्नुहोस् या घमण्ड एउटा उपन्यासकारले ५०० पृष्ठ खर्च गरेर लेखेको उपन्यासले दिने सन्देश भन्दा १० हरफको एउटा राम्रो गीतले पस्किन खोजेको सन्देश धेरै गुणा बढि हुन सक्छ ।