‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अवस्था’ विषयक अन्तरक्रिया सम्पन्न


‘चलचित्र विकाश बोर्ड’ को सहकार्यमा ‘नेपाल चलचित्र कलाकार सङ्घ’ ले आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम बग्गीखाना स्थित स्काई दरबार बैङ्केटमा आयोजना भएको थियो l चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षता एवं चलचित्र बिकाश बोर्डका सदस्य सचिव टंक महतको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि महतले बिकाश बोर्ड समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थानका लागि प्रयाशरत रहेको बताउँदै समय सापेक्ष  चलचित्र नीतिको ड्राफ्ट तयार भईरहेको र छिट्टै कार्यान्वयनमा ल्याउने कुरा जानकारी गराए l समारोहमा चलचित्र क्षेत्रका समस्या र समाधानका उपायबारे लिखित रुपमा बोर्डलाई जानकारी गराउन समेत उनले चलचित्रकर्मीहरुलाई आग्रह गरेका छन् l

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौला र सञ्चारकर्मी शान्तिप्रियले संयुक्त रुपमा तयार पारेको  अवधारणा पत्र मोहन निरौलाले प्रस्तुत गरेका थिए भने अवधारणा पत्रमाथि अधिवक्ता कृष्ण ढुङ्गाना, सञ्चारकर्मी कृष्ण भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ र सञ्चारकर्मी डब्बु क्षेत्रीले टिप्पणी गरेका थिए ।

चलचित्र बिकाश बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई बोर्डले थोरै भएपनि राहत दिएको र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याइएको कुरा बताएका थिए । दाहालले विदेशी चलचित्रबाट विकाश शुल्क उठाएर नेपाली चलचित्रको उत्थान गर्ने भन्ने नेपाल सरकारको नीति नै उदेकलाग्दो भएको कुरा समेत बताएका थिए l  

अभिनेता गोपाल ढकाल ‘छन्दे’ ले सहजीकरण गरेको सो कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय सङ्ग्रौला, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, चलचित्र सङ्घका पूर्व अध्यक्ष प्रदिपराज उदय लगायतका वक्ताहरूले चलचित्र कलाकार सङ्घले चलचित्र कलाकार र उद्योगको प्रवर्धनका लागि आवाज उठाउँदै आएको स्मरण गर्दै चलचित्र नीति निर्माण भएको भए अबिलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने र नभएको भए  निर्माण गरिनुपर्ने कुरामा जोड दिएका थिए । वक्ताहरूले बिदेशी चलचित्रको प्रदर्शनमा मापदण्ड बनाई नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथमिकता दिनुपर्नेमा समेत जोड दिएका थिए ।