आठै तालमा छायाङ्कन भएको `मनमोहक पोखरा´ सार्वजनिक


दीपेन्द्र अधिकारीको शब्द सृजनामा रहेको गीत  ‘मनमोहक पोखरा’ को भिडिओ सार्वजनिक भएको छ । वसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र सुप्रसिद्ध गायक स्वरुपराज आचार्यको स्वरमा तयार पारिएको यस गीतमा मिक्सिङ र मास्टरिङको काम प्रकाश मिश्रले गरेका छन् । समग्र पोखराको पर्यटन प्रवर्धनमा टेवा पुगोस् भन्ने उद्देश्य राखि तयार पारिएको यो भिडिओमा पोखराका आठै ताल रूपा, बेगनास, मैदी, दिपाङ्, खास्टे, न्यूरेनी, गुँदे र फेवाका दृश्यहरु समावेस गरिनुका साथै पोखराका अन्य महत्वपूर्ण एवं मनोरम स्थलहरुलाई समेत समेटिएको छ ।

प्रकाश सुवेदीको रचनात्मक निर्देशन, निशान घिमिरेको निर्देशन / सम्पादन, रोहन आशिवको नृत्य निर्देशन र उत्तम हुमागाईँको छायाङ्कन रहेको यस म्युजिक भिडिओमा ख्यातिप्राप्त कलाकारहरु माओत्से गुरुङ र  नम्रता सापकोटाको साथमा महेश खड्काले समेत अभिनय गरेका छन् ।