चलचित्र ‘चिट्ठी’ को पोष्ट प्रोडक्नशन जुलाईसम्ममा सकिने


एरा प्रोडक्नशन प्रा. लि. को ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘चिट्ठी’ का लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । सङ्गीतकार राजेन्द्र बजगाईको सङ्गीत संयोजन र वसन्त अर्यालको स्वर रहेको ताण्डव गीत सुरसङ्गीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ मनोज परियारले गर्ने कुरा थाहा भएको छ ।

माधवराज खरेलद्वारा निर्देशित यो चलचित्र कमेडी, हरर र थ्रिलर जनरामा रहेको बताइएको छ । चलचित्रको छायाङ्कन लगभग ७० प्रतिशत सकिएको कुरा निर्देशक खरेलले बताएका छन् । छायाङ्कनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही समय छायाङ्कन स्थगित गरिएको छ । स्वास्थ्यलाभ गरे पश्चात पुनः जोश र जाँगरका साथ काममा फर्कने कुरा समेत भण्डारीले बताएका छन् ।

नायक भण्डारी भन्छन् – ‘चिट्ठी, मेरो अहिलेसम्मकै उत्कृष्ट र लोभलाग्दो स्कृप्ट हो र यसमा अझ सुगन्ध थप्ने कोसिस गर्दै आफ्नो तर्फबाट जतिसक्दो राम्रो गर्नेछु l हँसाउँदा हँसाउँदै रुवाउने र डराउँदा डराउँदै हँसाउँने यसको अनौठो किसिमको शैली छ l पक्कै पनि नेपाली दर्शकहरुले ‘चिट्ठी’ लाई मन पराउने छन् भन्नेमा म विश्वस्त रहेको छु ।’

छायाङ्कनको काम रोकिए पनि छायाङ्कन भएकोजतिलाई सम्पादन गर्ने र बाँकी गीतहरु रेकर्ड गराउने काम धमाधम भईरकेको थाहा भएको छ । आगामी जुलाईसम्म चलचित्रको पोष्ट प्रोडक्सनको कार्य सकिसक्ने तरिकाले निर्माण पक्ष जुटिरहेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार यसअघि कमला जोशीको शब्द, जुगल डंगोलको सङ्गीत र केन्जुमा सुब्बाको स्वरमा ‘हर धड्कनमा’ बोलको गीत रेकर्ड गरिएको छ भने डा. कृष्णहरि बरालको शब्दमा रहेको ‘टुटेको तारा’ बोलको गीत सरोज कोईरालाको सङ्गीत र शिव परियारको स्वरमा छिट्टै रेकर्ड गराउने तयारी भईरहेको निर्माता कमला जोशीले बताएकी छन् ।

चलचित्रमा संजीत भण्डारीका अलावा गोपाल ढकाल ‘छन्दे’, कञ्चन चालिसे, खड्ग बहादुर पुन मगर (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने राजेश कुमारको सम्पादन जीवन पराजुलीको छायाङ्कन र नरेश खरेलको शृंगार रहने छ । चलचित्रको स्क्रिप्ट निर्देशक खरेलले नै लेखेका हुन् ।