ल्होछारको पूर्व सन्ध्यामा ल्होछार सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भईरहेका छन् । यसैबिचमा रोशन फ्युवा र लक्ष्मी तामाङको आवाजमा सजिएको म्हेन्दोमाया भाकामा ल्होछार गीत ‘चाईना जुत्ता’ को भिडिओ सार्वजनिक भएको छ ।
रोशन फ्युवाकै शब्द सङ्गीत रहेको यस गीतको भिडिओ फ्युवा आफैंले निर्देशन गरेका हुन् । आरम्भ तामाङ, अस्मिता तामाङ र रोशनी तामाङको प्रमुख अभिनय रहेको यस भिडिओमा तामाङहरुको मौलिक नाचहरुलाई समाबेश गरिएको देखिन्छ । तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको शब्द शृङ्गारलाई भिडिओमा उत्तिकै मिठाससँग उतारिएको छ ।
लम्जुङको पर्यटकीय गाउँ छिन्खोलामा छायाङ्कन गरिएको यस भिडिओमा ल्होछार मानाउने, पाहुनाको सत्कार गर्ने र नाचगान गर्दै रमाईलो गर्ने परम्परालाई आकर्षक ढङ्गमा देखाईएको छ । यसअघि सार्वजनिक भएका गीतहरु भन्दा यस गीतमा मौलिक परम्परालाई प्राथमिकता दिइएको तथा अलि पृथक रहेकाले पनि स्रोताले धेरै मन पराउनेमा आफू विश्वस्त रहेको फ्युवा बताउँछन् ।