नेतै नेताले भरिएको देश

-डा. डी. आर. उपाध्याय


देश बनाउने कुरामा खासै कसैको ध्यान गएको देखिदैन । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा जनता वाक्क दिक्क छन् । दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने देश र जनताको अवस्था सधै खोक्रो बन्ने यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन् देश र जनताको अवस्था गरिब हुन्छ त्यो देश कहिले माथि उठदैन । बिश्वको इतिहासवाट यो कुरा पुष्टि हुँदै आएको छ । साँच्चै यो देश बनाउने हो भने नेताहरु इमान्दार बन्नै पर्छ । खोक्रो र आदर्शको कुराले मुलुक अघि बढ्न सक्दैन । सत्ता र कुर्सिका लागि मरिहत्ते गर्ने नेताबाट मुलुक बन्ला भन्ने कुरा नसोचे पनि हुन्छ ।

हामीले नेताहरुको ब्यबहार र कार्यशैली भोग्दै र देख्दै आएका छौं । कुर्सिका लागि एकले अर्कोलाई सिध्याउने खेल बाहेक अरु केही देखिएन । मुलुकमा चाहिनेभन्दा धेरै नेता भए । मुलुकमा सक्षम, योग्य राज नेताको अभाव खड्किएकै छ । सबैलाई मिलाएर संगै लैजान सक्ने नेताको अभाब छ । राजनीतिक दल र नेतै नेताले भरिएको देशमा कहिले बिकास होला ? देशको आर्थिक अबस्थाले यति धेरै नेता पाल्न नसकिने अबस्था देखियो । नेता बिरामी हुँदा सरकारी बजेटबाट उपचार खर्च पाउँछन् । देशका नागरिक गम्भीर बिरामी हुँदा वीर अस्पतालदेखि सरकारी अस्पतालमा सहज रुपमा आइसियु पाउन मुस्किल छ । निजी अस्पतालमा उपचार गराउन जाने हो भने घर खेत बेचेर जानु पर्ने अवस्था छ । किन कि निजी अस्पताल धेरै महंगा छन् । बास्तबिकता यही होइन र ? त्यसो भएको हुनाले नागरिकलाई स्वास्थ्य, शिक्षा नि:शुल्क हुनुपर्छ भन्ने आबाज उठेको हो । नागरिकलाई स्वास्थ्य र शिक्षा नि:शुल्क हुनु अनिबार्य छ । कुरा मात्र गरेर हुँदैन, ब्यबहारमा कार्यान्वयन पनि गर्नु पर्छ ।

अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । उनले यो कुरामा ध्यान दिन जरुरी छ । उनी प्रधानमन्त्री हुँदा समाजमा खासै उत्साह देखिएन । कारण के हो भने यो उनको प्रधानमन्त्रीको पाँचौं कार्यकाल हो । उनी प्रधानमन्त्री हुँदा गरेका क्रियाकलाप नेपाली समाजले देख्दै र भोग्दै आएको छ । तथापि, इतिहासको कमी कमजोरीबाट पाठ सिकेर उनले अत्यन्त प्रभावकारी काम गरेर देखाउनु पर्ने समय आएको छ । अहिले नै उनको आलोचना गर्ने समय त आएको छैन । तै पनि सरकारको गति देखदा बोल्नु पर्ने भयो । परन्तु बिहानले दिउँसोको संकेत गर्छ भनेझैं उनको कार्यशैलीमा दूरदर्शिता देखिँदैन ।

हाम्रो देशको राजनीति संस्कार विकृत हुँदै आएको छ । यसलाई समयमै सुधार गर्नुपर्ने देखिन्छ । सामाजिक सञ्जाल, खबर पत्रपत्रिका, इलेक्ट्रोनिक्स मेडिया लगायतले जनचेतना फैलाएका छन् । कुनै कुरा लुकाउन सक्ने अवस्था छैन । तै पनि नेताहरुले अझै जनतालाई भ्रम छर्न छोडेका छैनन् । राजनीतिमा नेपाली समाज सचेत भएको देखिन्छ । देश बनाउने हो भने समाजका भ्रष्ट नेता वा कर्मचारीलाई सामाजिक बहिष्कार गर्ने आँट सबैले गर्नु पर्छ । हरेक क्षेत्रमा नैतिकताको प्रश्न उठिरहेको छ । आलोचना, टीकाटिप्पणी भइरहेको छ । तर सिंगो नेपाली समाज विकृति र विसंगतिविरुद्ध एकजुट भएर सम्बन्धित क्षेत्रको सुधारको लागि दबाब सिर्जना गर्न सकेको अवस्था छैन । यसरी नै राज्य, राजनीति, प्रशासन चलेको छ । त्यसैले समाजका भ्रष्ट, दलाल, बिचौलिया, ठग, बेइमान हौसिएका छन् । हामी सचेत र सक्रिय भयौं भने राज्य नागरिकप्रति उत्तरदायी हुन्छ ।

अहिले समाजका हरेक क्षेत्रमा आर्थिक अनियमितता, भ्रष्टचार एवं सेटिङ हुने गरेका समाचार आउने गर्छन् । हरेक ठाउँमा हुने कमिसन, अनियमितता, मिलीजुली खाने प्रवृतिका कारण देशका संरचना गुणस्तरहीन छन् । भ्रष्टचारको जालो बालुवाटार, सिंहदरबारदेखि स्थानीय तहसम्म फैलिएको अवस्था छ । देशमा भ्रष्ट आचरण भएको राजनीतिक नेतृत्व र प्रशासकका कारण सुशासन कायम हुन नसकेको हो । पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीहरूबीच घात, अन्तरघात, प्रतिघात हुँदै आपसी खिचातानी र स्वार्थको राजनीति मौलाउदै गएको छ । राजनीतिको आडमा कालो धन कमाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक शक्तिको आडमा आफ्ना दल वा गुटका कार्यकर्ताले आर्थिक अनियमिता गरिरहेका छन् । अहिले स्थानीय तहहरूबाट हजारौंको संख्यामा अख्तियार दुरुपयोग आयोगमा मुद्दा परेका छन् । विभिन्न दलका जनप्रतिनिधि संलग्न छन् । तर यी भ्रष्टहरूलाई कारबाही गर्नुपर्नेमा संरक्षण दिने काम दलबाट भइरहेको छ । यस्तो भएपछि कसरी मुलुक बन्छ ? मेरो प्रश्न यो हो ।