वसन्तले गाए डा. अच्युत शर्माको ‘बदलिदेऊ तिमी’


कञ्चन म्युजिक इन्टरटेनमेन्टले हालै बदलिदेऊ तिमी बोलको कर्णप्रिय गीतको भिडियो अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गीतकार प्रा.डा. अच्युत शर्माको रचना र वसन्त खड्काको सङ्गीत रहेको यस गीतमा वसन्त खड्काको स्वर रहेको छ । यो गीतको सङ्गीत संयोजन दीप तुलाधरले गरेका छन् ।

गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलाइनाको केरी स्थित समीर मानन्धरले आफ्नै स्टुडियोमा गरेका हुन् भने सम्पादनको काम काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । गीतको ध्वनि सम्पादन सङ्गीत संयोजक दीप तुलाधरले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन चाहिं नवीन निरौलाले गरेका हुन् । यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर वसन्त खड्काले मृगतृष्णा नामक एल्वम स्रोतासामु ल्याएका थिए भने गोधुली, लालिमा छहरा, वेष्ट अफ वसन्त खड्का लगायतका गीति एल्बम पनि वसन्तका अन्य साङ्गीतिक सिर्जना हुन् । कञ्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित श्रष्टाहरूसंग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन् । कञ्चन एल्बमका लागि यसअघि उनले अम्बर गुरुङको रचना र सङ्गीतमा राजमार्ग, डा. ऋषि बस्ताकोटीको रचना र आफ्नै सङ्गीतमा संगैसंगै, सुविद गुरागाईंको रचना र आफ्नै सङ्गीतमा कालापानी, रत्न शमशेर थापाको रचना र वसन्त खड्काको सङ्गीतमा सुनिता दुलालसँग युगल स्वरमा घुम्टो , विनोद रोकाको रचनामा रातो छ साडी लगायतका गीतहरू सार्वजनिक गरिसकेका छन् ।

सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा अन्तर्राष्ट्रिय छवि बनाएका प्रा.डा. अच्युत शर्मा पछिल्लो समय नेपाली गीत सङ्गीतमा उदाएका छन् । डा. शर्माका गीतमा राष्ट्रप्रेम, सामाजिक सद्भाव, एकता र मानवीय भावना ओतप्रोत भएको पाइन्छ ।

डा. शर्माका यसअघि पनि राजेशपायल राई, अञ्जु पन्त र हिमाल सागरको स्वरमा राष्ट्रिय गीतहरू बजारमा आइसकेका छन् । बदलिदेऊ तिमी गीतमा डा. शर्माले मानवीय मूल्य र मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थामा सकारात्मक सोचका साथ आफूलाई भित्रैदेखि बदल्न सके सिङ्गै संसार बदल्न सकिने सन्देश दिन खोजेका छन् ।