नारायणगोपाललाई ब्युँझाउँदै कन्दरा ब्याण्ड


लोकपप तथा मेलोडियस गीत-सङ्गीतको लागि ९० को दशकदेखि अझैपनि उत्तिकै लोकप्रिय पोख्रेली ब्याण्ड कन्दरा अहिले पनि नयाँ नयाँ  गीत-सङ्गीत पस्कनमा उत्तिक्कै सक्रिय छ । यही क्रममा कन्दरा ब्याण्ड ले स्व. नारायण गोपालप्रति समर्पण गर्दै उनको लोकप्रिय गीत मलाई नसोध कहाँ दुख्छ घाउ आफ्नो स्वरमा पस्केको छ ।

कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ हाल अष्ट्रेलियामा कार्यरत रहेपनि नेपालमा रहेका आफ्ना सहकर्मीहरुसँग उत्तिकै नजिक छन् उनी । श्रोता – दर्शकहरुमाझ आत्मियता कायम राख्न आफ्नो ब्याण्डसँगको कुनैपनि स्टेज शो होस् या गीत रेकर्डकै बेला किन नहोस् उनी नेपाल आइहाल्छन् । केहीबर्ष अघि मात्र उनी आफ्नो ब्याण्डसँग धरान, दमक, बुटवल, बिर्तामोड, पोखरा लगायतका विभिन्न शहरमा कार्यक्रम गर्न नेपाल आएका थिए भने केही महिना अघि अष्ट्रेलियामा नै आयोजना हुन लागेको कार्यक्रमका लागि आफ्नो ब्याण्डका सदस्यहरुलाई उनले अष्ट्रेलिया लाँदैथिए । तर सोही  समय कोरोनाको महामारीको कारणले उक्त कार्यक्रम नै हुन पाएन । अब भने पुन: कन्दरा ब्याण्डलाई सक्रीय   बनाउन लागिपरेका छन् ब्याण्डका गायक विवेक श्रेष्ठ ।

 स्व. नारायणगोपालको ३० औं पुण्य स्मृतिको अवसरमा ब्याण्डले  नारायणगोपालकै शब्द / सङ्गीत र हरिभक्त कटुवालको रचना रहेको गीत मलाई नसोध कहाँ दुख्छ घाउ कोभिडियो समेत निर्माण गरेको छ। नेपालमा रहेका ब्याण्ड सदस्यहरु सुनिल थापा, अमित गुरुङ, अनिल गुरुङ, अशिम शेरचन, बुद्धराज बज्राचार्य र अविनाश गायकले आफ्नो आफ्नो ठाउँमै रहेर भिडियो निर्माणमा भूमिका निर्वाह गरेका थिए । सो  अजम्बरी गीतमाथि न्याय गर्ने प्रयास गरेको र यसलाई आफ्ना अघिल्ला गीतहरुलाई झैँ श्रोताहरुले मनपराउने आशा कन्दरा ब्याण्डका सम्पूर्ण सदस्यहरुले व्यक्त गरेका छन्   ।

विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली गीत-सङ्गीतको लागि आफ्नो ब्याण्ड निरन्तर लागिरहने प्रण गर्दै ब्याण्ड सदस्य तथा गायक विवेक श्रेष्ठ कोरोना महामारीको अन्त्यसँगै फेरि पनि नेपालका कुना-कन्दरामा आफ्ना मेलोडियश गीत-सङ्गीत पस्किन आउने बताउँछन् ।