बहुआयामिक सर्जक हरि उप्रेती

सूर्य चन्द


विगत एक दशकदेखि अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका  साहित्यकार हरि उप्रेती मोफसलबाट चम्किएका गीतकारको रुपमा परिचित छन् । पूर्वी नेपालको झापा हुँदै अमेरिका पुगेर गीत सङ्गीत तथा साहित्यका अन्य विधा मार्फत छुट्टै पहिचान बनाउन सफल उनी गीति साहित्यका धरोहरका रुपमा चर्चामा छन् । करिब एक दशकदेखि गीत गजल तथा कविता लेखनमा सक्रीय गीतकार हरि उप्रेतीका दर्जनौ गीत चर्चामा रहेका छन् । उनका गीतमा नेपालका ख्यातिप्राप्त गायक गायिकाहरुले आवाज भरिसकेका छन् भने सुप्रसिद्ध सङ्गीतकारहरुले मीठा धुनहरु सिर्जना गरिसकेका छन् । गीतकार उप्रेतीले बिभिन्न ७ वटा उत्कृष्ट गीतकारका अवार्ड समेत हात पारिसकेका छन् ।

आधुनिक, पप, लोक, चलचित्रका गीत तथा भजन लेख्नमा समेत पोख्त गीतकार उप्रेतीले १२ वटा नेपाली चलचित्रमा शब्द कोरिसकेका छन् ।  मुक्तक, गजल र कविता सङ्ग्रहित अडियो बुक मनका तरेलीहरू समेत प्रकाशित गरिसकेका उनले चलचित्र तथा डकुमेन्ट्री फिल्म समेत निर्माण गरेका छन् । 

२०३४ सालमा जन्मिएका गीतकार हरि उप्रेतीले एम. एड. र  एम. ए. सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । पहिलो कृति गीति एल्बम करूणा मार्फत साङ्गीतिक आकाशमा उदाएका उप्रेती बहुप्रतिभाका धनी सर्जक हुन् । गीत सङ्गीत र साहित्यको अलावा समाजसेवामा पनि उत्तिकै सक्रीय उनले सयौं पीडितहरुलाई आर्थिक सहयोग पनि गर्दै आएका छन् । 

नेपाली कला, संस्कृति, भेषभूषा र रहन सहनलाई अति नै माया गर्ने गीतकार उप्रेती अहिले गीत सङ्गीत तथा साहित्यको माध्यमबाट नेपाली कला संस्कृतिलाई जगेर्ना गर्न लागिपरेका छन् । 

सरल, सधैं हाँसेर बोल्ने अति नै मिलनसार स्वभावका गीतकार हरिलाई एक बहुआयामिक प्रतिभाशाली, भर्सलटाइल गीतकार भन्न सकिन्छ । साँच्चै उनमा हर प्रकारको गीत लेख्न सक्ने क्षमता पनि छ । त्यसैले त उनी भन्छन्- ‘गीत सङ्गीत मेरो प्राण हो । सङ्गीत मेरो रगत र मेरो हरेक धड्कनमा छ । नेपाली सङ्गीत भनेको हाम्रो सम्पति हो, संस्कृति हो । त्यसैले यसको संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य हो । नेपाली साङ्गीतिक क्षेत्र तथा गीत सङ्गीतको स्तरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने पनि हाम्रो दायित्व हो ।’ दोस्रो गीति एल्बम करूणा-२ छिट्टै नै प्रकाशन हुने कुरा पनि गीतकार उप्रेतीले जानकारी गराएका छन् ।