त्रिवेणी सङ्गीतालयद्वारा फरक व्यक्तित्वका ३ सर्जक सम्मानित

त्रिवेणी सङ्गीतालयले सङ्गीतकार बी. बी. अनुरागी, गायक खिमकुमार गुरुङ र गीतकार आरजु विष्ट ‘सल्यानी’लाई सम्मान गरेको छ । गत मङ्सिर २१ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजना भएको त्रिवेणी साङ्गीतिक साँझका अवसरमा पूर्व घोषणा अनुसार जनही नगद रू. १० हजार र सम्मानपत्र सहित सङ्गीतालयले तीनै जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।



सम्मानित मध्येका एक बि. बि. अनुरागी २ दशकभन्दा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् । बाग्लुङको भकुण्डेमा जन्मेका गायक, सङ्गीतकार, एरेन्जर र गीतकारको छवि बनाएका अनुरागीले पोखराबाटै आफ्नो साङ्गीतक यात्रा सुरु गरेका थिए । उनले सङ्गीत भरेका उडेर जून छुन्छु भन्थेँ…, गोर्खा पल्टन…, तिम्रै झल्को…, जहाँ तिमी त्यहाँ म…लगायत दर्जनौँ गीत चर्चित छन् । उनले ५०० भन्दा बढी गीतमा सङ्गीत, १०० भन्दा बढीमा गायन, १ हजार भन्दा बढीमा एरेन्ज गरेका छन् भने ‘तिम्रै झल्को’ नामक गीत सङ्ग्रह पनि प्रकाशन गरेका छन् ।

यसैगरी सोही सम्मानबाट सम्मानित हुने अर्का प्रतिभा खिमकुमारले ५० भन्दा बढी लोकगीत, भजन र गाउँका गीत गाएका छन् । उनको एउटा एकल एल्बम बजारमा आइसकेको छ भने एउटा एल्बम आउने तयारीमा छ । कास्कीकै सिक्लेसका गुरुङ सानैदेखि गायनमा लागे पनि औपचारिक रुपमा भने २०६२ देखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।

समारोहमा गीतकार तथा सञ्चारकर्मी आरजु विष्ट ‘सल्यानी’ लाई भने ‘दीपक भट्टराई स्मृति सङ्गीत पुरस्कार’ बाट सम्मानित गरिएको थियो । झ्याम्म झ्याम्म…लगायत दर्जनौँ गीत र गजलका स्रष्टा सल्यानी २ दशकभन्दा लामो समयदेखि साहित्य, सङ्गीत र सञ्चारकर्ममा क्रियाशील छन् । सङ्गीतकार दीपक भट्टराईको परिवारद्वारा स्थापित सो पुरस्कारको राशि पनि रु. १० हजार नगदसहित सम्मान पत्र र दोसल्ला रहेको थियो ।

डेढ दशकदेखि पोखराको न्युरोडमा सङ्गीत प्रशिक्षण सञ्चालन गरिरहेको त्रिवेणी सङ्गीतालयले हरेका वर्ष त्रिवेणी साङ्गीतिक साँझ सञ्चालन गर्दै आएको छ । कार्यक्रममा पोखरा र काठमाडौँका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको थियो ।